Skip This
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
रासस म्याग्दी
२o८१ मङ्सिर १० सोमबार १३:o८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार १३:o८:oo

टिप्ने वेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

सुन्तलाको दानाभित्र किरा परेर आधा भाग पहेँलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका– ४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।

‘बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरू चिन्तित भएका छन्,’ बेनी– ४ वडासदस्यसमेत रहेका खत्रीले भने,’ बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।’

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमुना संकलन गरेर परीक्षणका लागि लगेका छन् ।

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । ‘दानाभित्र औँसा परेर सुन्तला झरेको छ,’ उनले भने, ‘सूर्यपुतलीको शंका लागेर परीक्षण गर्न पठाएका हौँ । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।’

बास्कुनाको छिमेकी बेनी– ३ मरेक र मंगला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैँचामा टाइट ट्याप (पासो) थाप्न र धुवाँ बनाउन प्राविधिकले सुझाएका छन् ।

दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताए । बास्कुना, सुर्केमेला र थामडाँडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु. ७५ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको थियो ।

धादिङबाट आएका ब्यापारीले नटिप्दै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताए । जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनले बताए ।

केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु. २१ करोड मूल्यबराबरको तीन हजार ६ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा ८१० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा ४२० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ ।

यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताए ।