Skip This
रविविरुद्ध पाँचौँपटक १५ दिन म्याद थप 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
२o८१ मङ्सिर १० सोमबार o८:२९:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रविविरुद्ध पाँचौँपटक १५ दिन म्याद थप 

जिल्ला अदालतको इजलासमा न्यायाधीश बेल्वासे र रविको सवाल–जवाफ 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o८:२९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै चारजनामाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १५ दिन म्याद थप गरेको छ । न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, लीला पछाई र नेचर हब्र्स इन्टरनेसनल र गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाललाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतले पक्राउ परेका केही प्रतिवादीको हकमा बयान बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुलेको, तथ्यमा पूरक बयान गर्न बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको, प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिदबिक्रीको लिखतसम्बन्धी कागज प्रमाण प्राप्त भइनसकेको, कल डिटेल तथा मोबाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रयोजन खुलाउँदै थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

थुनछेक बहसका क्रममा लामिछानेले न्यायाधीश बेल्बासेसँग आफूलाई हिरासतबाहिर रहेर अनुसन्धान गरियोस् भन्दै म्याद नथप्न आग्रह गरेका थिए । उनले आफू कतै जनाने र नभाग्ने भन्दै कानुनी प्रक्रियालाई सघाउन सधैँ तयार रहेको बताएका थिए । 

लामिछानेको आग्रहपछि न्यायाधीश बेल्बासेले भने म्याद थप हुने बताए । ‘तपाईंविरुद्ध अन्य जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीबाट छुटे पनि अन्य जिल्लाले पक्राउ गरेर लैजाने भएकाले हाल हिरासतमा बस्न तपाईंका लागि उपयुक्त हुनेछ । यहीँबाट लैजाने–ल्याउने गर्नाले तपाईंलाई सहज हुनेछ,’ उनले भने, ‘अनुसन्धानका लागि ल्याउँदै र लगिँदै गर्दा दोषी भएँ भन्ने ठान्नुहुन्न । दोषी हो वा होइन त्यो अनुसन्धानपछि मात्र थाहा हुनेछ ।’

गत २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित रास्वपा पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेविरुद्ध म्याद थपिँदै गएको छ । उनलाई ४ कात्तिकमा पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदासमेत जोडेर २० कात्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन र आइतबार पाँचौँपटक १५ दिन म्याद थप गरिएको हो । पोखरा ल्याएसँगै उनको हिरासत बसाइ लम्बिँदै गएको छ । 

६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात, पाँचौँपटक १०, छैटाैँपटक १३ र आइतबार १५ दिन म्याद थप गरिएको हो । प्रहरीले पछाईलाई १५ असोजमा पक्राउ गरेको थियो । 

जिल्ला अदालतको इजलासमा न्यायाधीश बेल्वासे र रविको सवाल–जवाफ 

रवि : यतिखेर मैले यहाँहरूलाई भन्ने भनेको मेरो अन्तिम आशा भनेकै सम्मानित अदालत मात्रै हो । किनभने यो सुरुवातदेखि अहिलेसम्म बढी नै राजनीतीकरण भएको मुद्दा हो । राज्यले सहकारीपीडितका लागि कहीँ बोलेको छैन । उहाँहरूमाथि थप अन्याय भएको छ । हामीले त्यतिखेर नै प्रतिवेदनमार्फत कसरी सहकारीको समस्या समाधान गर्न सकिन्छ भनेर प्रतिवेदन दिएका थियौँ । मन्त्री हुँदा मैले फास्ट ट्रयाकबाट अध्यादेश ल्याएर भए पनि समस्या सम्बोधन गर्नुपर्छ भनेर मन्त्रिपरिषद्मा पत्र लेखेको थिएँ । 

प्रधानमन्त्रीले उद्घाटन गरेको टेलिभिजनमा जिबी राईले म लगानीकर्ता हुँ, मैले राम्रोसँग गरेको हुँ, जिम्मेवारी लिन्छु भनेको कुरा अहिलेसम्म पनि रेकर्डमै छ । गोर्खा मिडियामा आएको भनिएको पैसा बैंकिङमार्फत भएको हो । सात महिनामा ‘वर्ल्ड क्लास’ टेलिभिजन बनाउने जिम्मेवारी लिएको हो ।

मलाई नै कारण बनाएर, मेरै विषयमा कुरा उठेको हुनाले मलाई नै केन्द्र बनाएर संसदीय छानबिन विशेष समिति बनाइयो । त्यसकारण प्रतिवेदनको मध्यविन्दुमा म नै थिएँ । सरकार परिवर्तन भयो, मानिसको बोली परिवर्तन भयो । त्यतिखेर संसद्मा प्रधानमन्त्रीजीले बोल्दा आफ्नो मनबाट बोल्नुभएको होइन । सबै अनुसन्धान गरेका निकायलाई बोलाएर, बुझेर उहाँले त्यो कुरा बताउनुभएको थियो । अहिलेका प्रधानमन्त्रीज्यूले पनि त्यसैगरी बुझेर बोल्नुभएको थियो । प्रहरी प्रमुखले सबै निकायलाई बोलाएर, सोधेरै भन्नुभएको हो । महान्यायाधिवक्ताको कार्यालयले पनि खोजेर, बुझेरै पत्र दिएको हो ।

जिबी राईलाई पक्राउ गर्नुपर्ने कुरामा सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधिका रूपमा म आफूलाई दाबी गर्न चाहन्छु । मैले मलेसियाका गृहमन्त्रीसँग दुईपटक टेलिफोन सम्पर्क गरेँ । उहाँले दिएकै उपायअनुसार जिबी राईको पासपोर्ट खारेज गर्न यही अदालतमा निवेदन आएको हो । तर, सम्मानित अदालतबाट आदेश आउन सकेन । 

न्यायाधीश : यो अनुसन्धानको चरण हो । अहिले दोषी भनिहालेको छैन । अनुसन्धानको चरण हो, निर्दोष पनि हुन सक्नुहुन्छ नि ।

रवि : बुझेको छु । अलिकति भोकल भएका कारण समस्यामा परेँ । तर, श्रीमान् हिजो सडकमा मिटरब्याजपीडितको आवाज उठिरहँदा, सदनमा मिटरब्याजपीडितको समस्या समाधान नहुने हो भने सदन चल्न सक्दैन भनेर आवाज उठाएको मैले हो । 

अहिले पनि देशमा यत्रो राजनीतिक मुद्दा छन्, त्यस्ता कुरामा पहल हुनुपर्ने, तर सदन चलेको छैन । म यहाँ बसेको एक महिना सात दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । श्रीमान् म भागेर कहीँ जान्न । म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे, यो देशमा केही गर्छु भनेर, अमेरिकी पासपोर्ट बुझाएर, यो देशको सेवामा लागेको मान्छे, म भागेर कहाँ जाउँला र श्रीमान् ? म जतिवेला पनि उपस्थित हुन सक्छु । मेरो कुनै नियत छैन । अनुसन्धानमा सघाउने मेरो नियत छ, तर ममाथि राजनीतिक प्रतिशोध साँधिएको छ । यो हुँदाहुँदै पनि यसो गर्छौँ भनेर भनिएका भिडियोहरू सार्वजनिक छन् श्रीमान् । ठाउँठाउँमा मुद्दा लगाइदिन्छु, योपछि अर्को मुद्दा लगाइदिन्छु, ९० दिन लगाइदिन्छु भनेका भिडियोहरू सार्वजनिक छन् । 

न्यायाधीश : बिचको अवस्था हो यो, यसमा सुरुको अवस्थामा छुट्टै हुन्छ, अनुसन्धानको अवस्थामा छुट्टै हुन्छ, म्याद थप्ने अवस्थामा अर्कै हुन्छ । यसलाई त्यही रूपमा बुझ्नुपर्छ । अहिले दोषी भएँ भनेर निराश हुनुपर्ने अवस्था छैन, भोलि निर्दोष हुन सक्नुहुन्छ । यो प्रक्रियालाई चाहिँ सघाउनुपर्‍यो ।

रवि : मलाई थुनिरहन पर्छ जस्तो लाग्दैन श्रीमान्, सबैभन्दा धेरै मतदाताको मन जितेर प्रतिनिधिसभा सदस्य भएर आएको छु । आशाको साथ आएको छु ।

न्यायाधीश : अहिले म दोषी भएँ नि भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन ।

रवि : जे–जे बाहिर भनिएका छन्, त्यहीँ–त्यहीँ पुग्दै जाँदा, ठाउँ–ठाउँमा मुद्दा, मान्छेलाई फरार गर्दै मुद्दा लगाउँदै जाँदाखेरि अपमान भएको छ श्रीमान् । यहाँ नभने कहाँ भनौँ ?

न्यायाधीश : अपमान त हुँदैन नि, तथ्यमा आधारित भएर काम गर्छौँ ।

रवि : श्रीमान्, आशा र भरोसा नै सम्मानित अदालत हो ।

न्यायाधीश : कसले पोल्यो भन्दा पनि अनुसन्धानले जे देखियो त्यही हुन्छ ।

रवि : म सघाउनका लागि तयार छु, तर अलि धेरै हैरानी भयो श्रीमान् ।

न्यायाधीश : त्यो हुन सक्छ । त्यही भएर चाँडै सक्न खोजेको ।

रवि : खै श्रीमान्, देशभरि मुद्दा लाउँदै जाने । म कसरी के भन्नु र, श्रीमान् आफैँले याद गर्नुहोला । 

न्यायाधीश : थुनछेकको वेलामा विचार गर्न सकिन्छ, यो अनुसन्धानचाहिँ ठिक छैन, यो ठिक छ भनेर अहिले भन्ने अवस्था छैन ।

रवि : म अनुसन्धानलाई सघाउँछु, ममाथिका प्रतिशोधसँग पनि लडौँला । मलाई सम्मानित अदालतप्रति धेरै विश्वास छ ।

न्यायाधीश : थुनछेकको क्रममा छोड्ने राख्ने कुरा हुन सक्छ । तर, तपाईंलाई यहाँबाट छोडे पनि अर्को ठाउँमा यही प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेको छ, त्यहाँबाट पक्राउ भइहाल्नुहुन्छ ।

रवि : श्रीमान् ममाथि अन्याय भएको छ । त्यही भएर तपाईंसँग डिबेट गर्न पनि डर लाग्छ । तपाईमाथि पूर्ण आशावादी छु श्रीमान् । 

न्यायाधीश : मैले छाडेर के गर्नु तपाईंलाई समाएर फेरि अर्को जिल्ला लगिहाल्छ । अनुमति दिएको छ अरू जिल्लाबाट पनि । कमसेकम यहीँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केसको क्रममा ती केस पनि सकिन्छन् ।

रवि : त्यस्तो भएछ भने म जान्छु नि श्रीमान् । तर, मलाई बाहिर रहेर अनुसन्धानमा सहयोग गर्न दिनुहोस् । मलाई अनुसन्धानभरि पोखरा नछोड भन्नुहुन्छ भने पनि छोड्दिनँ ।