सरकारले सुनचाँदीको भन्सार महसुल घटाएको छ । शुक्रबार अर्थ मन्त्रालयले सुनचाँदी भन्सार महसुल घटाउने निर्णय गरेको पत्र भन्सार विभागले आइतबार पाएको छ । सोमबारबाट सो निर्णय लागू हुने भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए । उनका अनुससार सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा घटाइएको र चाँदीको महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कायम गरिएको छ ।
भारतले बजेटमार्फत सुनचाँदीको भन्सार महसुल घटाएपछि नेपालमा पनि घटाउनुपरेको विभागका महानिर्देशक पुडासैनीले बताए । उनले भने, ‘भारतले यसअघि सुनको भन्सार महसुल घटाएपछि खुला सिमानाका कारण तस्करीको जोखिम बढ्ने भएकाले नेपालमा पनि महसुल समायोजन गरिएको हो । सोमबारदेखि नयाँ महसुल लागू हुन्छ ।’
भारतले बजेटमार्फत सुनको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत पुर्याएको थियो । चाँदीको महसुल १४.३५ प्रतिशतबाट ५.३५ प्रतिशतमा घटाएको थियो ।
तर, वाणिज्य बैंकहरूले सुनको आयात नगरेसम्म मूल्य समायोजन नहुने भएकाले सुनको मूल्य घट्न केही दिन पर्खिनुपर्ने हुन सक्ने सुनचाँदी व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनको माग नहुँदा बैंकहरूले सुन आयात नगरेको बताए । उनले भने, ‘घटेको महसुलअनुसार सुन आयात भएमा तोलामा १०–१२ हजार रुपैयाँसम्म नै घट्न सक्छ । तर, यो एकैपटक घट्ने होइन । माग र आपूर्तिको अवस्था हेरेर क्रमशः मूल्यमा असर पर्ने हो ।’
विवाहको मुख्य सिजन मानिने मंसिरमा एउटा मात्रै लगन रहेकाले सुनको माग बढ्ने सम्भावना नरहेको उनले बताए । यद्यपि, मूूल्य समायोजन भएको अवस्थामा केही उपभोक्ताले सुन किनेर जोहो गर्न सक्ने उनको बुझाइ छ ।
भन्सार महसुलले सुनको मूल्य घट्ने सम्भावना देखिए पनि अन्तर्राष्ट्रिय बजारमा तीव्र उतारचढाव आइरहेकाले त्यसको असर घरेलु बजारमा पर्ने उनले बताए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि घटेको बजार अन्तर्राष्ट्रिय तनाव बढ्न थालेपछि पुनः बढ्न थालेको थियो ।
महासंघका अनुसार आइतबार सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको छ । वाणिज्य बैंकहरूसँग अहिले सुनको मौज्दात नगण्य मात्रामा रहेको नेपाल बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । उनले भने, ‘अहिले बजारमा सुनको माग छैन । त्यसैले बैंकहरूले सुन आयात गरेका छैनन् । माग भएको अवस्थामा दुई दिनमा सुन ल्याउन सकिन्छ ।’
चालू आर्थिक वर्ष ०८१/८२ को चार महिना (साउन–कात्तिकसम्म)मा एक सय ३२ दशमलव ५६४ किलो सुन आयात भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार किलो सुन आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिएपछि सुनको माग कमजोर भएको छ । त्यस्तै, चालू आवको चार महिनामा एक किलो मात्रै चाँदी आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार एक सय ८५ किलो चाँदी आयात भएको थियो ।