तातोपानी गाउँपालिका– ४ मा रहेको गिडीदहलाई पर्यटकीय सम्पदामा सूचीकृत गर्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलसँग माग गरिएको छ । वडध्यक्ष अमरबहादुर रोकायाले मुख्यमन्त्री कँडेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस क्षेत्रको पर्यटन प्रवर्द्धनसहित पर्यटकीय सम्पदामा सूचीकृत गर्न माग गरेका हुन् ।
वडाध्यक्ष रोकायाका अनुसार गिडीदह, जुम्लाको तातोपानी गाउँपालिकाको मात्रै नभई कर्णाली प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय स्थलमा हो । समुद्र सतहदेखि करिब तीन हजार ४८५ मिटर उचाइमा रहेको यो दहआसपास घना जंगल छ र नेपालको राष्ट्रिय झन्डाको आकारमा विभाजित छ। यो क्षेत्र नाप जाँचका आधारमा कर्णाली प्रदेशका तालहरूमध्ये तेस्रो गहिरो मानिन्छ ।
दहको अधिकतम लम्बाइ एक हजार ५१० मिटर, चौडाइ ३१० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ। गिडीदह क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटीहरू, रुखहरू, चराहरू र लोपोन्मुख जनावरहरू पाइन्छन्।