महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा हुन लागेको वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् ।
मनोनयन दर्ता हुनु अगावै घरदैलो लगायतको कार्यक्रम गर्न थालेका उम्मेदवारहरुले जित हात पार्ने भन्दै सडक नाटक, घरदैलो, सभा लगायतको माध्यमबाट मतदाता फकाउन व्यस्त छन्। अधिकांश उम्मेदवारहरुले आफ्नो दलको तर्फबाट केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेताहरु समेत फिल्डमा उतारेर मत पक्का गर्ने प्रयास गर्दैछन्।
१६ मंसिरमा हुने उपनिर्वाचनको लागि उम्मेदवारहरु जाति र समुदायको आधारमा समेत मत जोड्ने प्रयासमा छन् । रामगोपालपुरको वडा २ को कुल मतदाता २१४१ रहेकोमा लगभग आधा मुस्लिम र सोहि अनुपातमा यादव, दास, राम, वैठा, महतो, ठाकुर (लोहार), र अन्य रहेका छन् ।
उपनिर्वाचन हुने वडामा मत जोड्न व्यस्त उम्मेदवारहरुसंग तपाईलाई मत किन भन्ने प्रश्नको जवाफमा माओवादी केन्द्र कि उम्मेदवार पुर्व वडाअध्यक्षकी श्रीमति आईती यादव आफ्नो श्रीमानको हत्या गरिएकोमा न्याय पाउन र श्रीमानको विकाससम्बन्धी अधुरा कार्यहरु पुरा गर्न उम्मेदवारी दिएको बताउछिन् ।
काँग्रेसबाट उम्मेदवारी दिएका पुर्व वडाअध्यक्ष समेत रहेका जनिफ खान ०७४ को स्थानिय तहको निर्वाचनमा आफुले गरेको कामलाई मुल्यांकन गर्दै जनताले मत दिने बताउछन् ।
यस्तै एमालेबाट उम्मेदवारी दिएका मो.सकिबुल खान शिक्षा, स्वास्थ्य, रोजगारसंगै अन्य विकासका कामहरु वडाबाट मात्र नभई प्रदेश र संघिय सरकारको समेत सहयोग लिएर कार्य गर्ने बताउछन् ।
जसपाबाट उम्मेदवारी दिएका मो.नजामुद्दिन खाँ युवा लागुऔषधको कुलतमा फस्दै गएको प्रति चिन्तित हुदै युवालाई लागुऔषधको कुलतबाट निकालेर सकारात्मक उर्जामा परिणत गर्ने र युवाको सहयोगले विकासको लहर ल्याउने बताउछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खुर्सेद खाँ भने अन्य दलको पैसाको अगाडी आफ्नो विकासको एजेन्डा विलिन हुनेमा चिन्तित रहेको बताउछन् ।