भर्खरै सम्पन्न संघीय एवं प्रदेश सभा निर्वाचन परिणामले नयाँ इतिहास रच्दै गरेको देखिन्छ । धेरै नयाँ अनुहार संसद्भित्र प्रवेश गर्दै छन् । निवर्तमान मन्त्रीदेखि पार्टी हाँकेका नेतासम्म थुप्रै संसद्भवनबाहिरै रहनेछन् । यसलाई परिवर्तन मान्नैपर्यो, तर कस्तो परिवर्तन ? कस्तो इतिहास रच्दै छ ? गहन बहस आवश्यक देखिन्छ ।
चुनावका वेला नेपालमा अन्धाधुन्ध गुन्जिने शब्द हो, परिवर्तन । प्रत्येक पाका नेताको भाषणले भन्छ, हामी इतिहास रच्दै परिवर्तनका लागि लडेर आएका मानिस हौँ । २००७ सालदेखि दोस्रो अप्रिल आन्दोलनसम्म हामीले परिवर्तनमा ठूलो भूमिका खेल्यौँ । प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामीलाई मत दिएर पुनः जिताइदिनुहोस् । सबै पूर्वप्रधानमन्त्री, मन्त्रीहरू, वरिष्ठ नेतागण पनि यसै भन्छन् । यसपाला अपवाद डा. बाबुराम भट्टराई देखिए ।
छोरी मानुषीलाई हँसिया–हथौडासहित निर्वाचनमा होमेर नाटकीय ढंगले उनी प्रचण्डको पक्षपोषणमा उभिए । अन्य पूर्वप्रमहरू पुनः निर्वाचनमा होमिए र जिते पनि, झलनाथ खनालबाहेक । तिनका दाहिने हात मानिने नेताहरू भने अधिकांश पराजित भए । तिनका ठाउँमा भकाभक नयाँ अनुहार उदाए । जसको मत माग्ने आधार पाका नेताविरुद्ध आक्रोश थियो । सागर ढकालले पूर्वप्रमहरूलाई देखाउँदै हजुरबाहरूलाई हराउन होइन, आराम गराउन चुनावमा उठेको भनिरहे । आफूलाई भावी प्रधानमन्त्रीसम्म भनिरहे । अन्ततः सबैजसो स्वतन्त्रको स्यालहुइयाँ पानीको फोकामै सीमित देखियो । तिनले निकै नगण्य मत ल्याए । दलको विकल्प दल नै हो भनेर निर्वाचनअघि हामीले सक्दो बहस गरेकै हौँ ।
निर्वाचनअघि मेरो मनमा खट्किएको एउटा विषय थियो : सबैभन्दा शक्तिसम्पन्न नेताहरू गठबन्धन गरिरहेका छन् । ससाना भुरे दलहरू, स्वतन्त्र पक्षधरहरू किन एक्लाएक्लै मच्चिरहेका छन् ? धेरै मित्रमाझ मैले यस्तो प्रश्न राखेँ । यसको उत्तर खोज्न उनीहरू बैठक बस्थे । एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने भन्थे । त्यसो भएको भए देशमा अझ ठूलै हलचल आउन सक्थ्यो, सायद । कोही ससाना दल मिलौँ भन्थे । कोही सबै स्वतन्त्र मिलेर एक निर्वाचन क्षेत्रमा एउटा मात्रै स्वतन्त्र उम्मेदवार उठाउने भन्थे । कसैले स्वतन्त्रको सञ्जालरूपी गैसस दर्ता गरेका थिए । स्वतन्त्रको सञ्जालबाट स्वतन्त्र जोड्न जर्ती खोज्दाखोज्दै भित्रभित्रै दलै दर्ता गरे ।
अन्तिम घडीमा उनीहरू आआफ्नै तालमा डम्फु बजाउँदै एक्लाएक्लै चुनावमा होमिए । स्थानीय निर्वाचनमा स्वतन्त्रको लहर उर्लियो भनियो, भलै १.६ प्रतिशत स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । स्वतन्त्रको जति हल्लाखल्ला भए पनि दलको विकल्प दल, विचारको विकल्प विचार भन्दाभन्दै स्वतन्त्रले एक्लाएक्लै उम्मेदवारी सार्वजनिक गरे । यसबीच स्वतन्त्र नामको पार्टी पनि अस्तित्वमा आयो । स्वतन्त्र शब्दको अपव्याख्या गरियो भनेर केही स्वतन्त्र पक्षधरले हारगुहार गरे । स्वतन्त्र पार्टी एक्लै अघि बढ्यो । निर्वाचनपछि रवि लामिछाने महानायकझैँ देखा परे । स्वतन्त्र पार्टीको विचार, सिद्धान्त संवैधानिक समाजवाद भनियो । यसबारे सोधखोज गर्दा स्वतन्त्र पार्टीका अगुवा नै अकमकिन्थे ।
यसपालिको निर्वाचनमा सबैजसो स्वतन्त्रको स्यालहुइयाँ पानीको फोकामै सीमित देखियो । तिनले निकै नगण्य मत ल्याए । दलको विकल्प दल नै हो भन्ने तथ्य स्थापित भयो ।
हतारमा होइन, बिस्तारै विचार बनाउँदै जाने हो, पहिले चुनाव लडौँ, सबैले हामीलाई सघाउनुस् भन्थे । उनीहरूलाई चुनावमा होमिन हतार थियो । विचार सिद्धान्त प्रधान थिएन । पार्टी निर्माण प्रमुख विषय थियो । सिद्धान्तले पार्टी जन्मने नभई पार्टी जन्माएर हुर्काएपछि विचार सिद्धान्त बनाउने पक्षमा उनीहरू देखिन्थे । संवैधानिक समाजवादले संघीयतालाई कसरी व्याख्या गर्ने भन्ने पनि विचार गरिएको थिएन । प्रदेश चाहिन्न भन्ने भाष्य भुनभुनाइरहेका वेला प्रदेश अस्वीकार गर्ने भनियो । विवेकशील साझाबाट समानुपातिक बागमती प्रदेश सभा निवर्तमान सदस्य विराजभक्त श्रेष्ठ प्रदेश संरचना अस्वीकार गर्ने विचार बोकेको दलबाटै प्रत्यक्ष उम्मेदवार बने । जसले प्रदेश सभाबाटै राजनीतिक पहिचान बनाए, उनैले प्रदेश नमान्ने दलको खाता खोले ।
संवैधानिक समाजवाद मान्ने दलले संविधानले सुनिश्चित गरेको संघीय संरचना अस्वीकार गर्यो । यसबारे विमर्श गर्ने फुर्सद कसैलाई थिएन । चुनावी माहोल उर्लिगयो । दूधसँग कागती मिसाएझैँ गठबन्धन गर्न थाले, स्थापित नेताहरू । राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिह्नबाट उठे । राप्रपा नेपालबाट कहीँकतै उम्मेदवार देखिएनन् । अध्यक्ष थापा आफैँ अर्कै दलको सूर्य चिह्न लिएर चुनाव लडे । एमालेले राजेन्द्र लिङ्देनवाला राप्रपासँग पनि गठबन्धन गर्यो । टाउकाको मूल्य तोक्ने र टाउकाको मूल्य बोक्नेहरूले पनि गठबन्धन गरे । हिजो हलगोरु नारिएझैँ एउटै दलका नेता प्रधान प्रतिपक्ष बनेर निर्वाचनमा होमिए । मकवानपुरमा कमल थापा र दीपक सिंह एक रथका दुई पांग्राझैँ सक्रिय थिए, राजावादी ब्रान्डमा ।
थापालाई सधैँ सघाइआएका सिंह हलो नै लिएर उठेका थिए । कमल थापा सूर्य चिह्न बोकेर एमाले कार्यकर्ताको भिड अघिपछि लगाएर हिँडेका थिए । एमालेले सानदार हिसाबले सघाउँदा पनि राजावादी दीपक सिंह एक्लैले कमरेड थापालाई हराइदिए । विशाल गठबन्धनले सघाएको कांग्रेसकी महिला उम्मेदवार महालक्ष्मी उपाध्याय पनि पछि परिन् । कांग्रेस–कम्युनिस्ट सबैले साझा उम्मेदवारझैँ सिंहलाई मत मागिहिँडेको देखियो । जसरी भए पनि आफ्नै पार्टीको उम्मेदवार हराउन पो कम्मर कसेर हिँडेका थिए, कांग्रेस–कम्युनिस्ट नेता–कार्यकर्ता । राजनीतिमा अन्तरघात निकै निर्मम बनेको देखेँ । महिला मतदाताको महिला उम्मेदवारप्रति पनि पटक्कै सहानुभूति देखिएन । कीर्तिपुरबाट एक दलित महिला अञ्जना विशंखे प्रत्यक्ष निर्वाचनमा होमिइन् । उनीप्रति पनि महिला उम्मेदवारको सहानुभूति देखिएन ।
परिवर्तन प्रायः ऐतिहासिक महत्वको हुन्छ । भलै परिवर्तन आंशिक र क्षणिक हुन सक्छ । परिवर्तन पूर्ण दीर्घकालीन प्रभाव पार्ने पनि हुन सक्छ । अलिकता दायाँबायाँ, यताउता गरेर फरक अवस्था उत्पन्न हुनु र आमूल प्रभाव पार्नु निकै अन्तरको कुरा हो । रूपमा मात्रै नभई सारमै परिवर्तन हुँदा परिवर्तनको अवस्था बढी नै प्रखर देखिन्छ । आर्थिक, शैक्षिक तथा सामाजिक व्यवस्थामा फेरबदल हुँदा पनि दीर्घकालीन प्रभाव पर्न सक्छ । बिफर, प्लेग, कोरोनाजस्ता महामारी, प्राकृतिक प्रकोप, विभिन्न दुर्घटना, गृहयुद्ध, राजनीतिक, वैज्ञानिक, सांस्कृतिक क्रान्तिबाट पनि व्यापक परिवर्तन आउन सक्छ ।
परिवर्तन पनि सापेक्षित हुन्छ, निरपेक्ष हुँदैन । कसैलाई सामान्य लागेको परिवर्तन अरू कसैलाई विशेष महत्वको हुन सक्छ । परिवर्तनको प्रभाव पनि निरपेक्ष नभई सापेक्षित हुन्छ । चुनावपछिको नेपाली राजनीतिक परिवर्तनलाई पनि यसर्थ सापेक्षित दृष्टिकोणबाटै विश्लेषण गरिनुपर्छ । चुनावपछि परिस्थिति बदलिएझैँ देखिन्छ । परिवर्तन भएझैँ लाग्छ ।
ऐतिहासिक प्रभाव पार्ने लक्षण पटक्कै देखिन्न । कम्युनिस्ट पार्टी थप चिरैचिरा पर्दा पनि कांग्रेस यथास्थितिको इतिहास उल्टाउन सक्ने गरी बलियो बनेको देखिन्न । वैदेशिक हस्तक्षेप बढिरहेको छ । बढ्दो अमेरिकी प्रभावमा चीनको गम्भीर चासो छ । एमसिसी, आइपिएस, जिएसआई र बिआरआईजस्ता पेचिला भूराजनीतिक मुद्दा थाती छन् । शान्तझैँ भारत भित्रभित्रै सक्रिय देखिन्छ । बढ्दो भूराजनीतिक टकरावको सामना कसरी गर्ने ?
सतहमा देखिएका दलले अब राष्ट्रिय स्वाधीनतामा कस्तो भूमिका खेल्ला, हेर्न बाँकी छ । शक्तिमा कसरी स्थापित हुने भन्नेमा सबैको चासो छ । सादगी नेताको सिला खोज्नुपर्ने अवस्था आएको छ । भोगी नै भोगी राजनीतिमा जोडिएका छन् । कसले कसलाई किन जिताए, किन हराए, विचार विमर्शले होइन, स्वार्थले काम गरेको देखिन्छ । पूर्वप्रधानमन्त्रीहरू चौरासी गर्ने उमेरमा पनि पुनः प्रधानमन्त्री बन्न मुख मिठ्याइरहेका छन् । एउटै अनुहार कतिपटक प्रधानमन्त्री बन्ने ?
युवापुस्तामा हस्तक्षेप गर्ने हुती देखिन्न । कृपा गरेर स्थान छाडिदिएहुन्थ्यो भन्ने छ । केही खरा आलोचक यसपाला संसद्भित्र प्रवेश गर्दै छन्, उनीहरूको आवाज कतिन्जेल प्रखरै रहला, भन्न सकिन्न । सामान्यजन अपवादमा उदाएका छन् । जसले परिवर्तनको ऐतिहासिकता बुझेर रूपान्तरणको राजनीतिक रथ हाँक्न सक्ने अवस्था देखिन्न । राजनीति घुम्दै फिर्दै २०७४ अघिकै अवस्थामा पुगेको छ ।
काठमाडौंलगायत मुख्य सहर प्रदूषणले कुरूप बनिसके । गाउँका डाँडाकाँडा डोजर आतंकले राताम्मे छन् । दिगो कृषि, पर्यटन, यातायात तथा व्यवसायमा ध्यान छैन । नेताहरू दलाल पुँजीवादका मतियार बनेका छन् । केही थान सुकिलामुकिलाले विदेशी देखेर तिनकै बोलीमा लोली मिसाए । मध्यम वर्गको अलिकता मत प्राप्त गर्न सके । के यतिले ऐतिहासिक परिवर्तन सम्भव हुन्छ ? जो विकास भन्नाले कारैकार दौडिरहेको सहरको कल्पना गर्छन् । तीनतले कार पार्किङको सपना देख्छन् ।
कति पिँधका महिला, दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्रका वर्ग समुदाय प्रत्यक्ष निर्वाचित भएर राजनीतिमा उदाए ? कुन दलले पिँधका वर्ग समुदायलाई समेट्ने, सजाउने कोसिस गरे ? को कहाँबाट कसरी शक्तिमा उदाउँदै छन् ? यी प्रश्नको ऐतिहासिक महत्वबोधसहित उत्तर नखोजी परिवर्तन भयो भन्नु हतारको कच्चा विश्लेषण साबित हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहास रच्यो भन्दै हल्लाखल्ला मच्चिरहेको छ, के यस दलले पिँधतिरबाट आफू उठ्ने र पिँधका नागरिक उठाउने कोसिस गर्यो ?
रास्वपाले ‘ह्विम’ त ल्यायो, तर स्थानीय र प्रदेशमा नटेकी उभिएको उल्टो पिरामिडजस्तै देखिएन र यो दल ? के यो ऐतिहासिक सकारात्मक परिवर्तनको आधारशिला हो ? थुप्रै प्रश्न थाती छन्, बहसका लागि । शक्तिमा आयो मात्रै होइन, को, कसरी, कहाँबाट आयो भन्ने पनि इतिहासमा दर्ज हुने नै छ । एउटा टुप्पोबाट पलाएको पार्टी, टुप्पोमै रमाएर टुप्पोमै अडिरह्यो भने ? विदेशीकै बोली बोलिरह्यो भने ? आफ्नोपनलाई अपमान गर्यो भने ? यसले समाजको असली चरित्र चित्रण गर्न सक्छ ?
उस्तै स्वर, स्वभाव, वर्गसमूह मात्रै उठिरह्यो भने ? अरूभन्दा कसरी भिन्न हुन्छ ? विदेश देख्दैमा, सेलिब्रिटी हुँदैमा, सुकिलामुकिला देखिँदैमा कोही सभ्य, भव्य हुन्नन् । यस भूमिमा किन कुनै दलित, उत्पीडित वा महिला महानायकझैँ उदाउँदैनन् ? ऐतिहासिक औपचारिक, अनौपचारिक सामाजिक संरचना पक्कै क्रियाशील छन् । संरचनात्मक लाभहानिको पूर्वाधार जिउँदै छन् । यस्तो लेन्सले हेर्दा कतै रास्वपाले भन्दा बढी रञ्जिता श्रेष्ठ, रेशम चौधरी र सिके राउतहरूले दीर्घकालीन परिवर्तन र प्रभावको रथ हाँक्ने आधारशिला निर्माण गरिरहेका त छैनन् ? चुनाव बहिष्कार गर्नेहरूले पनि अध्ययन मनन् गर्दै होलान् ।
हरेक परिवर्तनले फितलो होइन, गहन बहस खोज्छ । आकाशीय संरचनाबाट उत्पादित शक्तिले छितिजीय इतिहास रच्ने रथ हाँक्ला ? इतिहासले अन्ततः सबैको असली अनुहार उदांगो पार्नेछ । शक्तिकेन्द्रको इतिहासले राष्ट्रको सांस्कृतिक भविष्यलाई नै प्रभाव पार्छ । नेपाली बुद्धिजीवीलाई पनि शक्ति इतिहासको महत्वबोध छ । इतिहासबोधविना समाज परिवर्तनको वस्तुगत परिकल्पनासमेत गर्न सकिन्न ।
नेपालको शिक्षाका सुधारले दीर्घकालीन रूपमा कसरी सम्भ्रान्तहरू शक्तिमा टिकाइराख्ने चाल पञ्चायतले चलायो अनि यसको असर आजसम्म कति गढिएर बसेको छ भन्ने तथ्य चौतारीको पछिल्ला प्रकाशनबाट प्रस्ट हुन्छ । नेपाली शक्ति राजनीति कसरी कुलीन वर्गकै वरिपरि घुमिरहेछ भन्ने बोधविना परिवर्तनको परिकल्पना पानीको फोकामै सीमित बन्नेछ । एक व्यक्तिको विस्थापनमा उस्तै अर्को व्यक्तिको आगमनलाई परिवर्तन भन्ने कि नभन्ने ? यो परिवर्तन केटाकेटीले चाकाचुुली खेलेझैँ देखिँदै छ । यसर्थ, सबै परिवर्तन प्रिय हुन्नन्, प्रियजनहरू !