मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
आगलागीपछि ध्वस्त भएको संसद् भवनको बैठक कक्ष ।
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज २ बिहीबार o८:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब सिंहदरबारभित्रै संसद् र सर्वोच्च अदालत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o८:४६:oo

संसद् र सर्वोच्च अदालतको नियमित काम अब सिंहदरबारबाटै हुने भएको छ । बुधबार क्षतिग्रस्त भएका संसद् भवन र सर्वोच्च अदालत भवनको अनुगमन गर्नेक्रममा सरकारका तीनजना मन्त्रीले यस्तो बताएका हुन् । सिंहदरबार परिसरभित्रै निर्माणाधीन संसद् भवन र सर्वोच्च अदालत भवन अन्तिम चरणमा रहेकाले चार पाँच महिनापछि सञ्चालनमा आउने उनीहरूको भनाइ छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र भौतिक, सहरी विकाससहित ऊर्जामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवनको अवलोकन गरे । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद् भवन भग्नावशेषमा परिणत भएको छ । पहिलो दिन संसद् भवनपरिसरमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । संसद् भवनको भित्री भाग जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ । चीन सरकारले बनाइदिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् भवन बनाइएको थियो ।

बिआइसिसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अब संसद् बैठक नबस्ने भएको छ । अर्थमन्त्री खनालले संसद् भवन पुनर्निर्माण गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्ने बताए । आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने र त्यहीँ नै संसद्को बैठक बस्ने मन्त्रीहरूको भनाइ छ ।

आगामी निर्वाचनपछि सिंहदरबारभित्र निर्माण सम्पन्न हुने क्रममा रहेको संसद् भवनबाट बैठक चल्ने मन्त्री घिसिङले बताए । ध्वस्त भएको संसद् भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काइने उनको भनाइ छ । उनले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन, दीर्घकालीन योजनामा पुनर्निर्माण सुरु गर्ने बताए ।

मन्त्री घिसिङले संसद भवनमा ठूलो क्षति भएको बताए । उनकाअनुसार भवनभित्रका सभा सञ्चालन गर्ने सबै कुरा जलेका छन् । माइक, कुर्सी टेबल, साउन्ड सिस्टम केही बाँकी रहेन । भिडियो सिस्टम, मिडिया सेन्टर पनि जलेको छ । कम्प्युटर ल्यापटप, टिभीहरू बाँकी छैनन् । भवनभित्र कुर्सीहरू केही बाँकी छैन । दर्शकदीर्घा भुइँमा झरेको छ । ल्होत्से हल पूर्ण जलेको छ । दलका शीर्ष नेताहरू बस्ने कक्ष पनि बाँकी छैन । प्रहरीहरू बस्ने क्वार्टर पनि बाँकी छैन । योजना बनाएरै पुनर्निर्माण गर्नुपर्ने अवस्था छ ।

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री घिसिङले चार–पाँच महिनापछि सर्वोच्च अदालतको काम नयाँ भवनबाट सुरु गरिने बताएका छन् । बुधबार आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गर्न पुगेका उनले सिंहदरबारमा नयाँ बिल्डिङ बनिसक्ने भएकाले सोही ठाउँबाट काम थाल्ने बताए । यसलाई कसरी अगाडि बढाउने भनेर सरकारले एउटा निर्णय पनि गर्ने उनको भनाइ छ । उनले भने, ‘धेरै ठुलो क्षति भएको छ । अब यसलाई सबै एसेसमेन्ट गरेर त्यसको डिटेल डिजाइनसहित काम अगाडि बढाउँछौँ ।’