
नेपालले साफ यू–१७ पुरुष फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो खेलमा सोमबार बंगलादेशसँग खेल्दै छ । संजित सिंहको प्रशिक्षणमा रहेको नेपालको लक्ष्य लगातार दोस्रो जित हो ।
यसअघि नेपालले समूह ‘ए’को पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । श्रीलंकाविरुद्धको जितमा नेपालका लागि समीर कुमारले दुई गोल गरेका थिए । दुईपटकको च्याम्पियन बंगलादेशको यो पहिलो खेल हो ।
उमेर समूहमा राम्रो लगानी गरिरहेको बंगलादेश तुलनात्मक रूपमा बलियो देखिन्छ । बंगलादेश पनि आफ्नो पहिलो खेल गुमाउन चाहँदैन । नेपालसँगको प्रतिस्पर्धामा बंगलादेश पराजित भए सेमिफाइनल स्थान पक्का गर्न अन्तिम खेलमा श्रीलंकालाई हराउनुपर्नेछ । बंगलादेश विजयी भए समूह ‘ए’बाट सेमिफाइनल पुग्ने टोलीको छिनोफानो अन्तिम खेलबाटै हुनेछ । समूह ‘बी’मा भारत र पाकिस्तानले समान ३ अंक जोडेका छन् । भुटान र माल्दिभ्स अंकविहीन छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)का सबै सात टोली प्रतियोगितामा सहभागी भएका छन् । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली युवा खेलाडीले मोरङमा एक महिनाको तयारी गरेको थियो । चारपटक उपविजेता नेपालको पहिलो लक्ष्य सेमिफाइनल रहेको प्रशिक्षक सिंहले बताएका छन् ।