मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
२o८२ असोज २ बिहीबार o८:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नक्कली फुटबलर बनेर जापान पुगेका पाकिस्तानीलाई विमानस्थलबाटै फर्काइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o८:५६:oo
  • पाकिस्तानको सियालकोटनामक क्लबबाट २२ जना खेलाडी जापानमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागी हुन गएका थिए, तर उनीहरूको कागजपत्र नक्कली पाइएपछि विमानस्थलबाटै फर्काइयो

जापान सरकारले नक्कली खेलाडी बनेर आएको पाकिस्तानी फुटबल टोलीलाई मंगलबार फिर्ता गरेको छ । जापानको टोकियोमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागी हुन २२ सदस्यीय पाकिस्तानी टोली पुगेको थियो । तर, टोकियो अन्तर्राष्ट्रिय विमानका अधिकारीले नक्कली डकुमेन्टका साथ २२ जना खेलाडी अवैध रूपमा जापान प्रवेश गर्न खोजेपछि पक्राउ गरेको र त्यसपछि पाकिस्तानमै फर्काइएको गल्फ न्युजले जनाएको छ । सियालकोट एफसीनामक क्लबबाट उनीहरू जापान छिर्ने कोसिस गरेका थिए । नक्कली कागजात प्रमाणित भएपछि उनीहरूलाई विमास्थलबाटै स्वदेश फर्काइएको गल्फ न्युजले बताएको छ । 

सियालकोट क्लबका खेलाडी प्रतियोगितामा सहभागी हुन आएपछि सुरुमै उनीहरूमाथि अनुसन्धान भएको थियो । पछि सबै खेलाडी नक्कली ठहरिए । तत्कालै उनीहरूलाई विमानस्थलबाटै पाकिस्तान पठाइयो । गत वर्ष पनि सियालकोट क्लबले जापानमा आयोजित फुटबल प्रतियोगितामा भाग लिएको थियो । त्यसवेला सहभागी १७ जना खेलाडी पाकिस्तान फर्केनन् । यस घटनापछि जापान सरकारले पाकिस्तानबाट सहभागी हुने खेलाडीमाथि कडाइका साथ जाँच गर्दै आएको छ । 

मानव बेचबिखनस्वरूप फुटबलरको भेषमा २२ जनालाई जापान लैजान खोजिएको आशंका गरिएको छ । यसैगरी, पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआइए)ले पनि सियालकोट क्लबका २२ नक्कली खेलाडी जापानबाट फिर्ता भएको पुष्टि गरेको छ । 

मानव तस्करीका नाइके पक्राउ 
जापानमा नक्कली फुटबल टोली पठाउने मानव तस्करीका नाइके मलिक वाकास पक्राउ परेका छन् । एफआइएको अनुसन्धानमा वाकास नै मानव तस्करीमा सक्रिय रहेको देखिएको छ । एफआइएले पठाएको पत्रअनुसारै पाकिस्तानी सरकारले उनलाई पक्राउ गरेको हो । वाकासविरुद्ध गुजरानवालामा मुद्दा दर्ता गरिएको छ । ‘वाकासले केही समयअघि गोल्डेन फुटबल ट्रायलनामक फुटबल क्लब दर्ता गरेका थिए । उनले सबैलाई फुटबलरझैँ बनाउन प्रशिक्षण दिएका थिए,’ गल्फ न्युजले भनेको छ, ‘जापान पठाउने नाममा उनले प्रत्येक व्यक्तिबाट ४० लाख रुपैयाँ उठाएका थिए । अनुसन्धान अघि बढेपछि थप जानकारी आउन सक्नेछ ।’

गत वर्ष पनि वाकासले १७ जना नक्कली फुटबलर बनाएर जापान पठाएका थिए । त्यसवेला उनी सफल भएका थिए । यसपटक भने नक्कली खेलाडीलाई जापान प्रवेश गराउन सकेनन् । फुटबल प्रतियोगितामा सहभागी हुन आउने खेलाडीलाई जापान सरकारले १५ दिनको भिसा उपलब्ध गराएको थियो । ‘पाकिस्तान सरकारले छिट्टै काम सुरु गर्दा जापानमा मानव तस्करीमा सक्रिय व्यक्ति पक्राउ परेको छ,’ एफआइएका निर्देशक मोहमद विन असफले भने, ‘हामीले लामो समयदेखि नै उनीमाथि निगरानी गरिरहेका थियौँ ।’ 

यस घटनासँगै पाकिस्तान फुटबल संघ पुन: विवादमा आएको छ । जापान पठाउन प्रारम्भिक सिफारिस संघले दिएको थियो । अनुसन्धानका क्रममा पाकिस्तान फुटबल संघका केही पदाधिकारी पनि तानिन सक्ने मोहमदले जनाएका छन् । ‘यसमा संघका केही पदाधिकारी पनि संलग्न भएको आशंका छ,’ उनले भने, ‘कुनै पनि फुटबल खेलाडी वा टोली विदेशमा जाँदा स्वीकृति फुटबल संघले दिने गर्छ । २२ जना नक्कली खेलाडी हुँदाहुँदै पनि पत्र दिनु शंकास्पद छ ।’