हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सिसन बानियाँलाई ‘युथ ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ। बानियाँ नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन्।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो नाम हुन्।
त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्। ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ। कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ।