विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो ।
पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिँदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मंसिर ४ गते २२३ जना भित्रिँदा ३६२, ५ गते ११९ भित्रिँदा ३२० र ६ गते ८० जना भित्रिँदा ३७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् ।
यस्तै मंसिर ७ गते ८८ जना भित्रिँदा ३०३, ८ गते ५३ पर्यटक भित्रिँदा ४८१ जना, ९ गते १३६ भित्रिँदा ३०३ जना र १० गते १३२ पर्यटक भित्रिँदा २५७ जना बाहिएको प्राधिकरणको तथ्यांक छ ।
चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेको उनको भनाइ छ ।
नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुमै सामान्य हिमपात भएकाले चिसो बढेको उनको भनाइ छ ।
सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।
वि.सं. २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् ।
निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार ८४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लंगुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।
यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरूले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।