१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
कुवेतविरुद्ध शतक बनाएपछि नेपालकी पूजा महतो ।
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २८ बुधबार o९:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा स्थान बनाउन नेपाललाई युएई तगारो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार o९:२२:oo

दुबईमा चलिरहेको एसियन छनोटअन्तर्गत डबल राउन्ड रोविन लिगमा युएई १० अंकका साथ शीर्ष र आठ अंक जोडेको नेपाल दोस्रो स्थानमा, राम्रो रनरेटसहित आज युएईलाई निराश बनाए मात्रै नेपाल यू–१९ महिला विश्वकपमा

अर्को वर्ष मलेसियामा हुने आइसिसी यू–१९ महिला विश्वकपमा एसियाबाट स्थान पक्का गर्न बुधबार युएईलाई हराउनु पर्नेछ । एसिया छनोटमा शीर्ष स्थानमा रहने राष्ट्र विश्वकपमा पुग्नेछ । दुबईमा चलिरहेको एसियन छनोटमा युएई शीर्ष र नेपाल दोस्रो स्थानमा छन् । रनरेटमा युएईभन्दा नेपाल थोरै अन्तरले पछि छ । डबल राउन्ड रोविन लिगअन्तर्गत अन्तिम खेलमा पराजित हुँदा नेपाल विश्वकप पुग्ने यात्रा रोकिनेछ । फराकिलो जितले नेपाल विश्वकपमा स्थान बनाउनेछ । युएईको तुलनामा नेपाल दबाब देखिन्छ । 

प्रतियोगिताको मंगलबार युएईले थाइल्यान्डलाई ९ विकेटले हरायो । लिगमा यु्एईले शतप्रतिशत जित निकाली ५ खेलबाट १० अंक जोडेको छ । नेपालले पाँच खेलमा ८ अंक बनाएको छ । नेपाल लिगमा युएईसँग मात्रै पराजित भएको थियो । युएईको ४.७१ र नेपालको ४.३५ रनरेट रहेको छ । युएईलाई हराउँदा नेपालले अंक बराबरी गर्नेछ । रनरेटको आधारमा विजेताको टुंगो लाग्नेछ । 

नेपालले मंगलबार कुवेतमाथि १६५ रनको फराकिलो जित निकाली विश्वकप यात्रा सम्भव पारेको हो । नेपालको सानदार जितमा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले शतकीय तथा पाँच विकेट लिइन् । नेपालको महिला क्रिकेट इतिहासमा शतक तथा पाँच विकेट लिने उनी पहिलो खेलाडी बनेकी छिन् । 

शतक बनाउने दोस्रो खेलाडी
दुबईको अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा कुवेत १३ ओभरमा ४८ रनमै समेटिँदा नेपाल एक सय ६५ रनले विजयी भयो । यसै खेलमा पूजाले शतकीय इनिङ्स खेलेकी हुन् । नेपालको महिला क्रिकेटमा अन्तर्राष्ट्रिय शतकीय प्रहार गर्ने पूजा दोस्रो क्रिकेटर बनिन् । यसअघि सिनियर टोलीकी पूर्वकप्तान रुविना क्षेत्रीले गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक बनाएकी थिइन् । रुविनाको शतक बनाउने पहिलो नेपाली क्रिकेटर हुन् । यू–१९ महिला क्रिकेटमा भने पूजाको शतक नै पहिलो हो । उनले महिला क्रिकेटको एकै खेलमा सर्वाधिक व्यक्तिगत रनको रेकर्ड राखेकी छिन् । पूजाले कुवेतविरुद्ध १३० रन बनाइन् । उनले ६९ बलमा १७ चौका प्रहार गरिन् । रुविनाले माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रन बनाएकी थिइन् ।

एकै ओभरमा दुईपटक ह्याट्रिकबाट चुकिन्
कुवेतविरुद्ध ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेकी कप्तान पूजाले एकै ओभरमा ह्याट्रिक अवसर चुकाएकी छिन् । कुवेतविरुद्ध उनले आठौँ ओभरमा बलिङ गरेकी थिइन् । ८.१ ओभरमा उनले रेलिन मारियालाई एलबिडब्यु आउट गरिन् । ८.२ ओभरमा उनले अमिषा रामलाई बोल्ड गरेकी थिइन् । उनी ह्याट्रिक विकेट लिन चुकिन् । ८.३ ओभरमा पूजाको ह्याट्रिक बललाई कुवेतकी सेरेना साइमनले डट खेलिन् । पूजाले ८.४ ओभरमा यसपटक सेरेनालाई पूजाले बोल्ड गरिन् । त्यसपछि ८.५ ओभरमा उनले सारा जस्भीलाई बोल्ड गर्न सफल भइन् । अर्को बलमा पूजासमक्ष ह्याट्रिक गर्ने अवसर थियो । तर, जिनिया अफरोजले अन्तिम बल डट खेल्दै पूजालाई ह्याट्रिक लिनबाट रोकिन् । पूजाले उत्कृष्ट बलिङ स्पेलमा चार ओभर बलिङ गर्दै आठ रन खर्चेर पाँच विकेट लिइन् । उनले एक मेडन ओभर पनि फ्याँकिन् । 

१ सय ५७ रनको साझेदारी
कुवेतविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात कमजोर देखियो । इनिङ्सको १.२ ओभरमा नेपालले पहिलो विकेटका रूपमा सना प्रवीणलाई गुमाएको थियो । त्यसवेला नेपालले स्कोर बोर्डमा १० रन जोडेको थियो । त्यसपछि सावित्री धामी र पूजाबिच दोस्रो विकेटका लागि ४६ रनको साझेदारी भयो । पूजा र सोनी पाख्रिनले तेस्रो विकेटका लागि नटआउट १५७ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई दुई सयभन्दा माथिको योगफल पुर्‍याए । पूजाले धेरैजसो स्ट्राइक आफूमा राख्दै कुवेतका बलरलाई दबाबमा राखिन् । सोनीले धैर्यपूर्वक ब्याटिङ गरी ३३ बलमा ४३ रनको योगदान दिइन् । उनले दुई चौका प्रहार गरेकी थिइन् । नेपालले कुवेतबाट २३ अतिरिक्त रन पाएको थियो । बलिङमा कुवेतकी जेफा जिलानी २९ रन खर्चेर एक विकेट लिइन् । मारिया डी सोजाले ३२ रन दिँदै एक विकेट लिइन् । 

कुवेत ४८ रनमै समेटियो
विशाल लक्ष्य पछ्याएको कुवेतकी ओपनरबाहेक अन्य खेलाडीले नेपालको कसिलो बलिङ सामना गर्न सकेनन् । ओपनर जेफाले सर्वाधिक ३६ रनको योगदान दिइन् । उनले ४२ बलमा सात चौका प्रहार गरिन् । कुवेतका आठमध्ये सात खेलाडी डकआउट भएका थिए । साराह जास्वी र अमिसा राम गोल्डेन डक भए । दुवै खेलाडी सामना गरेको पहिलो बलमै आउट भएका थिए । नेपालको बलिङमा रचना कुमारी चौधरीले १० रन खर्चेर दुई विकेट लिइन् । सीमा केसीले एक ओभरमा एक रन दिँदै दुई विकेट हात पारिन् ।