भारतले आइएलएस सञ्चालन अनुमति नदिएपछि भिजिबिलिटी समस्या समाधान गर्न आरएनपी–एआर प्रणाली प्रयोग गरिने
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) प्रणाली सञ्चालनमा ल्याइने भएको छ । भारतले आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै आइएलएस सञ्चालनका लागि अनुमति नदिएपछि नयाँ विकल्प अगाडि सारिएको हो । आरएनपी–एआर भूउपग्रहमा आधारित अवतरण प्रणाली हो भने आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि हो । आरएनपी–एआर नेभिगेसन प्रणालीले जहाजलाई चुनौतीपूर्ण भूभाग र खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ । यो प्रणालीका लागि बल्ल उडान विधि तयार भएको र कार्यान्वयनमा आउन कम्तीमा ६ महिना लाग्ने नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए । उनले भने, ‘यो प्रणाली कार्यान्वयनमा ल्याउन विमानस्थलदेखि वायुसेवा कम्पनीसम्मले धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यो हिउँदमा आरएनपी–एआर विधि प्रयोगमा आउनेछैन ।’
आरएनएपी–एआर प्रविधि र आइएलएस प्रविधिबाट उस्तै कम भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिने भैरहवा विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । ‘आरएनपी–एआर विधिबाट आठ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गराउन सकिन्छ,’ उनले भने, ‘आइएलएस प्रविधिबाट पनि आठ सय मिटर भिजिबिलिटीसम्म जहाज अवतरण गराउन सकिने हो ।’
क्यानले करिब एक अर्ब खर्चिएर जडान गरेको आइएलएस सञ्चालन गर्न भारतले अनुमति नदिएपछि महाप्रबन्धक तिवारीले नयाँ विकल्पका रूपमा भूउपग्रहमा आधारित अवतरण प्रविधि क्यानमा प्रस्ताव गरेका हुन् । क्यानको टिमले अध्ययन गरेर आरएनपी–एआरको उडान विधि तयार पारिसकेको छ । अब आरएनपी–एआर भेलिडेसनको प्रक्रिया अगाडि बढाइने क्यानका प्रवक्ता पाण्डेले जानकारी दिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआर प्रविधि सञ्चालनमा छ । जहाँ ११ सय मिटर भिजिबिलिटीसम्म जहाज अवतरण भइरहेका छन् । भैरहवामा पनि आरएनपी–एआर प्रविधि उपयुक्त हुने ठानेरै प्रस्ताव गरेको तिवारीको भनाइ छ ।
आरएनपी–एआर प्रविधिका लागि जमिनमा पूर्वाधार तयार पार्नु नपर्ने क्यानले जनाएको छ । तर, जहाजमा विशेष उपकरण जडान हुनुपर्छ । नयाँ अन्तर्राष्ट्रिय जहाजमा अनबोर्ड नै हुन्छ । यो विधि प्रयोग गर्ने वायुसेवाले पनि आफ्नो देशको नियामकबाट स्वीकृति लिनुपर्ने प्रवक्ता पाण्डेले बताए ।
त्रिभुवन विमानस्थलमा पनि सन् २०१४ देखि आरएनपी–एआर प्रणाली सञ्चालनमा छ । प्रवक्ता पाण्डेका अनुसार अहिले कतार, कोरियन, थाई, नेपाल एयरलाइन्स, हिमालयले आरएनपी–एआर विधिबाट जहाज अवतरण गरिरहेका छन् । काठमाडौंको विधिले भैरहवालाई काम गर्दैन । भैरहवाका लागि छुट्टै उडान विधि तयार भइसकेको छ, जसको फ्लाइट भेलिडेसनको प्रक्रिया सुरु हुँदै छ ।
क्यालिब्रेसन फ्लाइटमा जस्तै आरएनपी–एआर विधि परीक्षण गर्न पनि विशेष जहाज चाहिन्छ । यस्तो जहाज नेपालमा नभएकाले विदेशबाट ल्याएर भेलिडेसन फ्लाइट गर्ने क्यानको तयारी छ । विदेशबाट जहाज ल्याएर ग्राउन्ड इन्स्पेक्सन गरिनेछ । ‘फ्लाइट भेलिडेसन गर्न केही दिनमा सूचना निकाल्दै छौँ, तीन महिनाभित्र जहाजको टुंगो लाग्छ,’ प्रवक्ता पाण्डेले भने, ‘यदि भेलिडेसन रिपोर्ट राम्रो आए आरएनपी–एआर प्रणाली सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रियस्तरमा ५६ दिनको सार्वजनिक सूचना प्रकाशित गर्नुपर्छ ।’
आरएनपी–एआर सञ्चालनका लागि प्राधिकरणले उडान विधि बनाउने र जहाज अवतरणका लागि निर्देशन दिने एटिसीका कर्मचारीलाई तालिम दिनुपर्ने हुन्छ । यो विधि प्रयोग गर्न चाहने वायुसेवाले आफ्नो देशको नियामक निकायको विशेष अनुमति लिनुपर्छ । पाइलटलाई पनि विशेष तालिम दिनुपर्छ । यो प्रविधिका लागि पाइलट र एयरक्राफ्टको प्रशिक्षण तथा उपकरण प्रमाणीकरण पनि अनिवार्य छ ।
जहाज अवतरण गर्ने पाइलट र गराउने एटिसी कर्मचारीले पूर्वअभ्यास सिम्युलेटर तालिम गराउनुपर्छ । फ्लाइट सिम्युलेटर तालिम भनेको उडानसम्बन्धी प्रशिक्षण दिने एक किसिमको प्रक्रिया हो, जसमा वास्तविक विमान उडाउने नभई कम्प्युटर सिस्टम र विशेष प्रविधि प्रयोग गरेर उडान गर्ने अभ्यास गराइन्छ । यस प्रशिक्षणको उद्देश्य भनेको पाइलटलाई विभिन्न उडानको स्थिति मौसम परिवर्तन, प्राविधिक समस्या, आकस्मिक अवस्थामा कसरी जहाज अवतरण गर्ने भनेर सिकाउनु हो सिम्युलेटर तालिममा क्यानदेखि वायुसेवा कम्पनीसम्मको खर्च हुन्छ । सबै प्रक्रिया पूरा गरेपछि बल्ल क्यानले यो विधिबाट अवतरण गर्न खुला गर्छ । क्यानका प्रवक्ता पाण्डेका अनुसार काठमाडौंमा लिएको सिम्युलेटर तालिमले पुग्दैन । भैरहवाका लागि वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले छुट्टै सिम्युलेटर तालिम लिनुपर्छ ।
अहिले भैरहवामा भेरी हाई फ्रिक्वेन्सी (भिओआर) प्रविधि लागू छ, जसमा जहाज अवतरणका लागि १८ सय मिटरको भिजिबिलिटी चाहिन्छ । हिउँदमा बाक्लो कुहिरो लाग्ने हुँदा भिजिबिलिटी दुई–तीन सय मिटरसम्म झर्ने गर्छ । यस्तो अवस्थामा आइएलएस वा आरएनपी–एआर दुवै विधिले काम गर्दैन । यी दुवै विधिबाट अवतरण गर्न कम्तीमा ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ । आइएलस प्रविधि जडान गर्दा ग्राउन्डमा खर्च गर्नुपर्छ । तर, आरएनपी–एआर प्रणाली सञ्चालनका लागि उडान कार्यविधि बनाउने हो । त्यो क्यानले बनाइसकेको भैरहवा विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी गराए ।