पछिल्लो समय युवाहरूमा बिदेसिने बाध्यतासँगै मोह पनि बढ्दो छ। एकातर्फ विमानस्थलमा देश छाड्नेको लर्को देखिन्छ भने अर्कोतर्फ देशमै रोजगारीको अवसर खोज्ने युवाहरू पनि छन्। तिनैमध्येका एक हुन् महोत्तरीको सम्सी गाउँपालिका– ५, पोखरभिन्डाका रविन्द्र ठाकुर। उनी देशमै तरकारी खेती गरेर आफ्नो भविष्य उज्यालो पार्न तल्लीन छन्।
पछिल्लो केही वर्ष महोत्तरीमै ठेक्कापट्टा गरेर जीविको चलाएका ठाकुरले काम अभावमा हातमुख जोर्नसमेत समस्या हुन थालेपछि बिदेसिने मन बनाए। तर, बिदेसिने सोचलाई परिवर्तन गर्दै आफ्नै देशमा केही गर्ने निधो गर्दै तरकारी खेतीमा होमिए।
हालसम्म १५ लाख लगानी गरिसकेका रविन्द्र बिस्तारै तरकारीबाट आम्दानी गर्दै छन्। पहिलो प्रयासमै उनले सफलताका साथ भन्टा, चिप्ले भिन्डी, बोडी, लौका, घिरौँला, हरियो केराउ, काँक्रो, परबल, खुर्सानी र टमाटरलगायतका तरकारी उत्पादन गर्न थालेका छन्। मनरा सिस्वा नगरपालिका– २ इटहर्वाकट्टीमा झन्डै ७ बिघा जग्गा लिजमा लिएर उनले तरकारी खेती थालेका हुन्।
लिजकै जग्गामा तरकारी उत्पादन गरिरहेका रविन्द्र पहिलो वर्षको प्रयासमै राम्रो उत्पादन भएपछि सन्तुष्ट छन्। तरकारीले बजार पाउनेमा समेत उनी ढुक्क छन। यद्यपि, भारतबाट आयात हुने तरकारीले केही असहजता भने ल्याएको उनको भनाइ छ।
हालसम्म कुनै अनुदान नलिएका रविन्द्र सरकारको थोरै सहयोग पाए तरकारीमाथिको परनिर्भरता घटाउन सकिने बताउँछन्। आफ्नै ठाउँमा अवसरहरू रहेको बताउने उनी अवसर खोज्नु भने आवश्यक रहेको थप्छन्। उनी आफ्नो व्यवसायकै कारण केही व्यक्तिले रोजगारीसमेत पाएकाले अब केरा, उखु र कागती खेती पनि विस्तार गर्ने सोचमा रहेको बताउँछन्। आफ्नो ठाउँको जमिन बाँझो राखेर अरूको देशमा पसिना बगाउनुको सट्टा आफ्नै खेतमा पसिना बगाउनुपर्ने रविन्द्रको सोच छ।
मनरा सिस्वा नगरपालिकाले समेत नगरपालिकाभित्रका कृषकहरूलाई वैज्ञानिक तरिका तथा विषादीमुक्त खेती गर्न प्रोत्साहित गर्दै आएको छ। पालिकाभित्रका कृषकहरूलाई विभिन्न समयमा प्राविधिक ज्ञानसँगै आवश्यक बिउबिजन र औजार उपकरणहरू उपलब्ध गराउँदै आएको नगरप्रमुख मोहन पाण्डेय बताउँछन्।