पर्यटनमन्त्री बद्री पाण्डेले क्यासिनो लाइसेन्स दिँदा एक करोड घुस खाएको कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमै उनले रूपन्देहीको तिलोत्तमास्थित रोयल टाइगर रिक्रिएसनलाई क्यासिनो सञ्चालनको इजाजत दिँदा मन्त्रीले कमिसन खाएको उल्लेख गरेका छन् । सांसद बजगाईं र मन्त्री पाण्डे दुवै कांग्रेसका नेता हुन् ।
बजगाईं गोरखा १ बाट र मन्त्री पाण्डे बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । दुवैजना कांग्रेसभित्र वरिष्ठ नेता डा. शेखर कोइरालानिकट मानिन्छन् । बजगाईं पर्यटन व्यवसायी पनि हुन् ।
रोयल टाइगर रिक्रिएसनले रूपन्देहीकै पहिलो पाँचतारे रिसोर्ट होटेल टाइगर वानमा क्यासिनो सञ्चालन गरिरहेको छ । ११ साउन ०८१ मा पर्यटन विभागले रोयल टाइगर रिक्रिएसनलाई क्यासिनो सञ्चालनको इजाजत दिने निर्णय गरेको थियो । टाइगर वानमा सञ्चालित क्यासिनो देशकै सबैभन्दा ठुलो हो ।
‘हामी समकक्षी म, सुभाष र सुशान्त सँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले एक करोड रुपैयाँ बुझाएको प्रस्ट पारे,’ बजगाईंले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन भनेको र त्यो नेताले पैसा पुर्यायो ।’ तर, कुन नेताको घरमा पैसा पठाउन भनेको भनेर खुलाएका छैनन् । उनले ‘डेरामा बस्ने, मन्त्री बन्नासाथ घर किन्ने ?’ भन्दै प्रश्नसमेत उठाएका छन् ।
अर्कोतर्फ पर्यटनमन्त्री पाण्डेले ‘करोड होइन, कौडी खाएको पुष्टि गर्न’ भन्दै सांसद बजगाईंलाई चुनौती दिएका छन् । मंगलबार नेपाल विद्याश्रम संस्कृत माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले इमानदार भएर काम गर्न खोज्नेलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको आरोप लगाए ।
उता मन्त्री पाण्डेले स्वार्थ समूह शक्तिशाली बन्दै जाँदा राजनीति गर्ने व्यक्तिहरू कमजोर बन्दै गएको बताए । ‘मैले तीन–चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मानमर्दन गर्ने, मनोबल र आत्मविश्वास गिराउने गरी काम गरिरहेका छन्,’ उनले भने, ‘म यो पशुपतिनाथको मन्दिरअगाडि प्रतिज्ञा गरेर भन्छु, करोड त के कौडी खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोकाअगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्नेछु ।’
उनले तथ्य, प्रमाण र हल्लाका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्दै अफवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गरे । ‘म आत्मविश्वासका साथ भन्न सक्छु, वाल्मीकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदासमेत आफ्नो जीवनशैलीमा कुनै परिवर्तन छैन,’ उनले भने ।
तपाईंले के आधारमा यति गम्भीर आरोप लगाउनुभयो भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले कानुनविपरीत काम हुँदा चलखेल भएको स्वाभाविक देखिने तर्क गरे । ‘अदालतले सरकारी जग्गा मिचेर बनाएको रिसोर्टको प्रोपर्टी रोक्का गरिदिएको छ । अदालतले रोक्का राखेको होटेलमा क्यासिनो चलाउन इजाजत दिन पाइँदैन । तर, त्यहाँ क्यासिनो चलाउन दिइएको छ भनेपछि कमिसनको खेल प्रस्टिन्छ,’ उनले भने, ‘कसैले पनि प्रमाण भेटिने गरी घुस खाएको हुँदैन । घुसको रकम बैंकबाट लेनदेन हुँदैन ।’
सांसद बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन नसकेको भन्दै मन्त्री पाण्डेको आलोचना गरेका छन् । ‘मन्त्रीले भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे, तर सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छन्, यो झुट हो,’ उनले सञ्जालमा लेखेका छन्, ‘किनभने सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा आफैँ क्यानलाई विभाजन गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीलाई ब्रिफ गर्दै गरेको १५ जना सांसद साक्षी छौँ ।’
सांसद बजगाईं र क्यानका महानिर्देशक अधिकारीबिच विगतदेखि नै मतभेद छ । पछिल्लोपटक जहाज र हेलिकोप्टर दुर्घटनापछि बजगाईंले क्यानले हवाई सुरक्षामा खेलाँची गरेको आरोप लगाउँदै महानिर्देशकलाई हटाउनुपर्ने माग गरेका छन् । तर, मन्त्री पाण्डे महानिर्देशक अधिकारीको प्रभावमा परेर हटाउन नसकेको बजगाईंको आरोप छ ।