ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ साँवामा रहेको सुन्दर झरना फुङफुङेको नाममा ‘फुङफुङे झरना पर्यटन मेला’ आयोजना गरिने भएको छ। ओझेलमा रहेको यो पर्यटकीय स्थानको प्रवर्द्धनका लागि आगामी मंसिर ७ देखि १० गतेसम्म पर्यटन मेला आयोजना गर्न लागिएको हो।
फुङफुङे झरनासहित सुन्दर ठाउँको पर्यटन मेलामार्फत प्रचारप्रसार गरी विदेशी तथा आन्तरिक पर्यटकको केन्द्र बनाउने उद्देश्य लिएको आयोजक फुङफुङे झरना पर्यटन विकास समितिले जनाएको छ। पर्यटन मेलामा खेलकुद, सांस्कृतिक कार्यक्रमलगायत अन्य विभिन्न गतिविधि सञ्चालन हुनेछ।
मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले फुङफुङे झरनासहित यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको तयारी गरिएको बताए।
यता, विकास समितिका अध्यक्ष विजय साँवाले पर्यटन मेलाको मुख्य आकर्षणका रूपमा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिता रहेकोसमेत जानकारी दिए। अध्यक्ष साँवाले फुटबल प्रतियोगितामा वडा तथा क्लबस्तरीय प्रतियोगिताका विजेता र उपविजेताले पुरुषतर्फ क्रमशः एक लाख ११ हजार १११ र ६१ हजार १११ रुपैयाँ पाउने बताए। महिलातर्फ विजेताले ५५ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले बताए।
२०४५ सालमा फुङफुङे युवा मेलाका नाममा झरना स्थलमा मेला लाग्न सुरु भएको थियो। मेलाले २०५२ सालसम्म निरन्तरता पाए पनि द्वन्द्वकालमा बन्द भएको समितिका अध्यक्ष साँवाले जानकारी दिए। सोही मेलाको निरन्तरतास्वरूप करिब २९ वर्षपछि फुङफुङे झरना पर्यटन मेला नाम दिएर आयोजना गर्न लागिएको साँवाले बताए।