नेकपा एमालेले ७ मंसिरमा भृकुटीमण्डपमा जनप्रदर्शन र जागरणसभा गर्ने भएको छ। एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको बुधबारको संयुक्त बैठकले भृकुटीमण्डपमा जनप्रदर्शन र जागरणसभा गर्ने निर्णय गरेको हो।
सभाअघि भद्रकाली, सुन्धारा र रत्नपार्कबाट बिहान साढे ११ बजे सुरु हुने जुलुस बागबजार हुँदै भृकुटीमण्डप पुगेर जागरणसभामा परिणत हुने केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक तथा केन्द्रीय सदस्य श्यामकुमार बस्नेतले बताए।
तीनवटा मूल स्थानबाट जुलुस सुरु हुनुअघि विभिन्न स्थानबाट पनि छुट्टाछुट्टै जुलुस आयोजना गर्ने एमालेको तयारी छ। सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन्।
२४ कात्तिकमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले जागरणसभा आयोजना गर्ने निर्णय गरेको थियो। एमालेले जागरणसभालाई बढ्दो अराजकता र अराजकताविरुद्ध लोकतन्त्र, स्थिरता, राष्ट्रिय एकता, सामाजिक सदभाव र विकासको पक्षमा प्रदर्शन भनेको छ।
काठमाडौंस्थित पार्टीको शक्ति परिचालित गर्ने निर्णय गर्दै जागरणसभा तयारी समितिको बुधबारको बैठकले स्थायी समिति सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको छ।
‘मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सदभाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरणसभामार्फत पार्टीको दृष्टिकोण, धारणा आमजनताका बिचमा पुर्याउँछौँ,’ संयोजक भट्टराईले नयाँ पत्रिकासँग भने।
तयारी समितिमा उपत्यकामातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखहरू छन्। जसअनुसार तयारी संयोजन समितिको सहसंयोजकमा कैलाश ढुंगेल छन् भने सदस्यहरूमा टुका हमाल, श्यामकुमार बस्नेत, प्रेमकुमार पराजुली, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल र जनक चौधरी रहेका छन्। बुधबारको तयारी बैठकले सभालाई प्रभावकारी बनाउन जनपरिचालन, जनसभा, जनप्रदर्शनको व्यवस्था मिलाइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।