१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
प्रदेश डिजिटल संस्करण

नबरालिएर प्रदेशवासीको हितमा काम गर्न बागमती सरकारलाई माओवादीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १६:१७:oo

बागमती प्रदेश सभाको विपक्षी दल माओवादी केन्द्रले विभिन्न आठबुँदे मागसहित मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ध्यानाकर्षण गराएको छ।

एक सय दिनको उपलब्धि सार्वजनिक गरेकै दिन मुख्यमन्त्री लामालाई भेटेर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका नेताहरूले ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्र बुझाउँदै जम्कट्टेलले सय दिनको अवधिमा प्रदेशमा सरकार छ भन्ने कुराको अनुभूति नै गर्न नपाएको बताए। उनले प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई नबरालिन र आफ्नो कर्तव्यमा केन्द्रित भई प्रदेश र प्रदेशवासीको हितमा काम गर्न आग्रह गर्न आएको बताए।

ध्यानाकर्षणपत्रमा प्रदेश सरकार संघीयताको मर्म र भावनाअनुसार सञ्चालन नभएको आरोप लगाइएको छ। प्रदेशवासीको सेवा, प्रदेश विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा प्रदेश सरकार छ वा छैन भन्ने अवस्थामा पुगेको दाबी गरिएको छ।

यस्तै, सुविधाजनक बहुमतमा प्रदेश सभाका दुई ठुला दलले सञ्चालन गरेको सरकारले जनअपेक्षाअनुसार संघीयताको संस्थागत सुदृढीकरण, सुशासन र तीव्र विकासमा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ।

दीर्घकालीन महत्त्वका प्रदेश सडक गुरुयोजना, समुदायमा आधारित उत्पादन कार्यक्रम, वडा समाजवादी कार्यक्रम, प्रदेश विश्वविद्यालय सञ्चालन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद् स्थापना र सञ्चालन, गृहिणी महिला कार्यक्रम, दलित विकास कार्यक्रम, चेपाङ, चिउरी, चमेरो, खेलकुद पूर्वाधार, अस्पताल स्तरोन्नति तथा सुदृढीकरण कार्यक्रमलगायत प्रदेशका रणनीतिक योजनाहरू विनाराजनीतिक पूर्वाग्रह लागू गर्न आग्रह गरिएको छ।

यसैगरी, समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि तदारुकता देखाउन र १२ असोजमा मकवानपुरको इन्द्रसरोवर– ३ सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माओवादी केन्द्रले माग गरेको छ।