१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २६ सोमबार
  • Wednesday, 13 November, 2024
२o८१ कार्तिक २६ सोमबार १२:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ जिल्लामै उत्पादित विद्युत् वितरण सुरु, अब बाहिरी जिल्लाको समस्याले विद्युत् अवरोध नहुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २६ सोमबार १२:१o:oo

लमजुङमा आइतबारदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्स्याङ्दी  करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो । जिल्लामा पर्याप्त विद्युत् उत्पादन हुँदै आए पनि हालसम्म राष्ट्रिय प्रसारणलाइनमार्फत आएको बिजुली मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट वितरण हुँदै आएको थियो ।

जिल्लामा वितरण हुँदै आएको ३३ केभी विद्युत् प्रसारण उदीपुर सबस्टेसनबाट वितरण गरीएको हो। आइतबारदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए। यसअघि जिल्लामा दमौलीबाट आउने ३३ केभी प्रसारणलाइनबाट विद्युत् वितरण हुँदै आएको थियो । ‘यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएर पुनः लमजुङ आउन ६० किलाेमिटर दूरी पार गर्नुपर्ने थियो । उदीपुरस्थित सबस्टेसनबाट वितरण भएसँगै अब दुई किलाेमिटर दूरी पार गर्नुपर्ने हुन्छ । राष्ट्रिय प्रसारणलाइनबाट जिल्लामा वितरण गरिएको विद्युतमा समस्या आउने गरेको र सो समाधानका निम्ति निर्माण सम्पन्न सबस्टेसनबाट वितरण गरिएको हो ।’ उदीपुर सबस्टेसनबाट जिल्लाभित्र विद्युत् वितरण भएसँगै बाह्य जिल्लामा हुने समस्याले लमजुङमा कुनै अवरोध नहुने केन्द्र प्रमुख मेघनाथ भट्टराईले बताए । यसअघि राष्ट्रिय प्रसारणलाइनमा चितवन वा तनहुँमा समस्या आउँदा पनि लमजुङको विद्युत् अवरोध हुने गरेको थियो ।

अब उदीपुरबाट सीधै जिल्लामा विद्युत् वितरण भएपछि अन्य जिल्लाको समस्याले लमजुङमा कुनै असर नपर्ने नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख भट्टराईले बताए । केही समयअघि मात्रै लमजुङको बेँसीसहर नगरपालिका– १ उदीपुरस्थित २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको हो । मर्स्याङ्दी  करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत उदीपुरमा सबस्टेसन निर्माण भएको हो । 

मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो । लमजुङमा साना–ठुला आयोजनाबाट २४० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । केन्द्रले जिल्लामा उत्पादित विद्युतलाई उदीपुरस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । वितरण केन्द्रले तनहुँ जिल्लाको भानु नगरपालिकाको चारवटा वडा र लमजुङभर ४० हजार घरमा विद्युत् वितरण गरेको छ ।