बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई विगतमा गरेका निर्णयहरूको कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ। आइतबार बसेको बैठकले गत ६ र १४ असोजमा बसेको सर्वदलीय बैठकबाट भएका निर्णयहरू तत्कालन कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो ।
बैठकले गत ६ असोजमा बसेको बैठकले चालू आवको बजेटमा छुट भएका कार्यक्रम आयोजनाहरू समावेश गर्ने र १४ गतेको बैठकमा विपत् प्रभावित नागरिकको सम्बन्धमा गरिएको निर्णयको अवस्थाबारे ध्यानाकर्षण गराएको हो ।
बैठक कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा बसेको थियो। उपनेता चित्रकारले आइतबारको बैठकले बजेटमा थप हुने कार्यक्रमबारे अध्ययन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार विगतमा भएको सहमतिअनुसार चालू आवको बजेटमा थप हुने योजना र रकमबारे अध्ययन हुनेछ ।
उनले सहमति र निर्णयहरू कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि बजेट रकम र योजनाको विवरण माग गरेर अध्ययन गर्न लागिएको बताए। गत ६ असोजमा बसेको सर्वदलीय बैठकमा चालू आवको बजेट कार्यक्रममा छुटेका योजनाहरू दलगत रूपमा माग गरेर समावेश गर्ने सहमति भएको थियो ।
सर्वदलीय बैठकमा कांग्रेसका उपनेता चित्रकारसहित कांग्रेसका मुख्य सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल, माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकाल, राप्रपाकी प्रमुख सचेतक कुमारी लामा, एकीकृत समाजवादीका सांसद वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यको उपस्थिति रहेको थियो । प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीका तर्फबाट भने बैठकमा कोही पनि उपस्थित थिएनन् ।