खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङको टकरावका कारण दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने भएको छ । कर्णाली प्रदेशमा २ देखि ९ मंसिरसम्म हुने प्रतियोगिताका लागि राखेपले अन्तिम तयारीसमेत गरिसकेको थियो ।
संघीय सरकारले ३६ खेलका ४१९ स्पर्धा गराउन ६० करोड विनियोजन गरिसकेको छ ।
तर, खेलकुदमन्त्री चौधरीले फागुनअघि प्रतियोगिता हुन नसक्ने घोषणा छन् । ‘विभिन्न कारणले प्रतियोगिता निर्धारित समयमा हुन सक्दैन,’ चौधरीले नयाँ पत्रिकासँग भने, ‘छिट्टै प्रतियोगिताको नयाँ मिति घोषणा गर्छौँ, मेरो तयारी २५ फागुनपछि हो ।’ पछिल्लो समय चौधरी र घिसिङबिचको सम्बन्ध सौहार्दपूर्ण छैन । केन्द्रीय राजनीतिमा एमाले–कांग्रेस गठबन्धन सरकार छ । खेलकुदमन्त्री चौधरीले कांग्रेसबाट जिम्मेवारी पाएका हुन् ।
घिसिङ सदस्यसचिव रहेसम्म राष्ट्रिय प्रतियोगिता नगर्ने पक्षमा मन्त्री चौधरी छन् । घिसिङलाई जसरी पनि हटाउने योजनामा उनी छन् । राखेप संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी ओली पनि अहिले प्रतियोगिता गराउने पक्षमा नरहेको स्रोत बताउँछ ।
‘प्रधानमन्त्री नै घिसिङ सदस्यसचिव रहेसम्म प्रतियोगिता गराउनुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ, वर्तमान सरकारले राखेपमा सदस्यसचिव र उपाध्यक्ष नियुक्ति गरेपछि मात्र दशौँ प्रतियोगिता गर्ने उहाँहरूको योजना बुझेका छौँ,’ राखेप स्रोतले बतायो । केन्द्रको यही राजनीतिका कारण कर्णाली प्रदेशमा मंसिरमा तय भएको दशौँ राष्ट्रिय प्रतियोगिता अनिश्चित
देखिएको हो ।
एक वर्षदेखि राखेपको बोर्ड बैठक बस्न नसक्दा प्रतियोगिताको नियमावली नै पास भएको छैन । राखेपमा उपाध्यक्षसहित नौ सदस्य पद रिक्त छ । ‘राखेपको बोर्ड पूर्ण नभएका कारण बैठक बस्न नसक्दा यो अवस्था आएको हो,’ मन्त्री चौधरीले भने, ‘स्थानीय तह, जिल्ला हुँदै प्रदेशको खेलाडी छनोट पनि भएको छैन ।’
पूर्वाधार निर्माण अन्तिम चरणमा
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सेन्थेटिक ट्र्याकसहितको अत्याधुनिक रंगशाला अन्तिम चरणमा पुगेको छ । सामान्यतर्फ प्यारापिट बनिसकेको छ । भिआइपी बक्स बन्ने क्रममा छ । बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्ने, छाना हाल्ने कामसँगै क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले केन्द्रले मिति घोषणा गरे प्रतियोगिता आयोजना गर्न स्थानीय आयोजक तयार रहेको बताए ।
‘पूर्वाधारका कारण प्रतियोगिता रोकिएको होइन । यसअघि नै सय दिनको ‘काउन्ट डाउन’ सुरु गरेका थियौँ, तर केन्द्रीय सरकार नै आयोजना गर्न तयार नभएपछि कर्मचारीलाई दसैँ–तिहारका लागि बिदाइ ग¥यौँ,’ सञ्जालले भने, ‘जुनसुकै मितिमा भए पनि आयोजना गर्न तयार छौँ ।’ यसअघि राखेपले समयभित्र पूर्वाधार निर्माण हुँदा २७ कात्तिकबाटै प्रतियोगिताको औपचारिक खेल सुरु गर्ने निर्णय गरेको थियो । प्रस्तावित खेलमा महिला फुटबल, महिला–पुरुष बास्केटबल, जुडो, उसु, तेक्वान्दो र महिला–पुरुष हक्की, महिला–पुरुष ह्यान्डबल, महिला–पुरुष क्रिकेट, फेन्सिङ, भलिबल र फुलकन्ट्याक्ट प्रतियोगिता अगाडि नै गर्ने तयारी थियो ।
फागुनमा पनि सम्भावना कम
खेलकुदमन्त्री चौधरीले २५ फागुनपछि प्रतियोगिता गर्ने तयारी गरे पनि स्थानीय आयोजकलाई यसको जानकारी दिइएको छैन । राखेपको बैठकपछि मात्रै नयाँ मिति घोषणा हुने उनले बताएका छन् । त्यसपछि प्रतियोगिताको नियमावली पारित हुनेछ । राखेपका केही सदस्य अदालत पुगेका छन् । उपाध्यक्षसहित नौ पद रिक्त हुँदा राखेपको बैठक तत्काल बस्ने स्थितिमा छैन ।
फागुनपछि प्रतियोगिता गर्दा एसइईको परीक्षाको तालिका छ । ‘यही अवस्थामा प्रतियोगिता फागुनमा हुनेमा सम्भावना निकै कम छ,’ सञ्ज्यालले भने, ‘फागुनमा प्रतियोगिता गर्न अहिलेसम्म मिति दिनुपर्ने हो, तर आधिकारिक रूपमा दिइएको छैन । फागुनमा नभए खेलाडीको एसइई परीक्षा सुरु हुन्छ ।’
३६ मध्ये २४ खेल कर्णालीमा
राष्ट्रिय खेलकुद कर्णालीको सुर्खेतसहित विभिन्न जिल्लामा हुँदै छ । उद्घाटन र समापन वीरेन्द्रनगरको कर्णाली रंगशालामा हुनेछ । स्थानीय आयोजक कर्णालीले पूर्वाधारका कारण ३६ मध्ये २४ खेल मात्रै हुने बताएको छ । त्यसमध्ये १७ खेल सुर्खेतको वीरेन्द्रनगरमा हुनेछ । यसअघि राखेपले एथलेटिक्स, ब्याडमिन्टन, पुरुष–महिला क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, भलिबल, खो खो, फुटबल, बक्सिङ, जुडो, शारीरिक सुगठन, भारोत्तोलन, कुस्ती, तेक्वान्दो सुर्खेतमा गर्ने तयारी गरेको छ ।
जुम्लामा फुलकन्ट्याक्ट कराँते, बुद्धिचाल र महिला तथा पुरुष हक्की हुनेछ । सल्यानमा टेबुलटेनिस र महिला–पुरुष कबड्डी, कराँते कालिकोटमा र आइटिएफ तेक्वान्दो पश्चिम रुकुममा हुने भनिएको छ । उच्च पहाडी भेगका कारण केही खेलका पूर्वाधार कर्णालीमा उपलब्ध छैन । सुटिङ, गल्फ, टेनिस, सफ्ट टेनिस, जिम्न्यास्टिक, स्क्वास, आर्चरी, फेन्सिङ, सेपाकताक्रो महिला–पुरुष, साइक्लिङ, ट्रायथलन, प्याराग्लाइडिङका पूर्वाधार कर्णालीमा छैनन् । यसअघि गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुँदा स्क्वास, सुटिङ, क्रिकेट र साइक्लिङका खेलाडीले काठमाडौंमा प्रतिस्पर्धा गरेका थिए ।
२५ फागुनपछि मात्रै प्रतियोगिता हुन्छ
तेजुलाल चौधरी, खेलकुदमन्त्री
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारणले निर्धारित समयमा नहुने भएको छ । योजनाअनुसार २५ फागुनपछि मात्रै प्रतियोगिता हुन्छ । अबको राखेप बैठकले दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय गर्छ । यससँगै धेरै निर्णय गर्नु छ । नयाँ मिति घोषणा गर्न अगाडि बढेका छौँ ।
हामी त समयमै
गराउने पक्षमा थियौँ
विश्वामित्र सञ्ज्याल, सदस्यसचिव, कर्णाली प्रदेश खेलकुद परिषद् संघीय सरकारले प्रतियोगिता गराउने वा नगराउने कुरा हो । आयोजनाको जिम्मेवारी पाएपछि सय दिनको गणना सुरु गरिसकेका छौँ, तर केन्द्रले यसमा चासो दिएको छैन । प्रतियोगिताको मिति सार्नुपर्ने कारण थाहा छैन । यसको उत्तर दिनुपर्छ । प्रतियोगिता गर्न हामी तयार छौँ ।