१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २५ आइतबार १३:५९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार १३:५९:oo

हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प)मा राष्ट्रिय प्रसारणलाइनको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका– ९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारणलाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गरिएको छ । बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बेसक्याम्पमा १० वटा होटेल, स्वास्थ्यचौकी र स–साना रेस्टुरेन्टहरू सञ्चालित छन् । बेसक्याम्पमा विद्युतका ग्राहक संख्या १५ रहेको छ । राष्ट्रिय प्रसारणलाइन पुग्नुभन्दा पहिले बेसक्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।
    
सौर्य ऊर्जाको ब्याकअपले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठुलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका– ९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारणलाइन पुगेपछि अहिले धेरै सहज भएको बताए। ‘राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युतकाे प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,’ बेसक्याम्पमा होटेलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने ।

 लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटेलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्ण रूपमा कटौती गर्न सकिने उनको भनाइ छ । उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यासको प्रयोग हुने गरेको उल्लेख गरे ।

केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका– ९ खाङ्सार पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेसक्याम्पमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुर्‍याइएको जानकारी दिए।

वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने, ‘बेसक्याम्पमा राष्ट्रिय ग्रिड पुर्‍याउनमा केन्द्रित थियौँ, ठुलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउनेछौँ ।’

लमजुङको मर्स्याङ्दी  गाउँपालिका– ५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारणलाइन चामे गाउँपालिका– १ स्यार्क्युस्थित ३३/११ केभी सबस्टेसनमा पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेसक्याम्पमा पुर्‍याइएको हो । 

 प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारणलाइन ट्रिपिङ भई बन्द भएका वेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए। 

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका– १ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

धारापानी सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारणलाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।