सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)का लागि मंगलबार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।
मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको बताए । ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले एनपिएलको माध्यमबाट नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुग्ने जनाए । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा क्रिकेटले अर्को खुड्किलो चढ्ने विश्वास गरे ।
टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्षदेखि आफू क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिमले दिएको जिम्मेवारीका लागि धन्यवाद दिएका छन् । एनपिएल आगामी १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदै छ ।
स्कटल्यान्डका माइकल पोखरामा
पोखरा एभेन्जर्सले स्कटल्यान्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । ३४ वर्षीय लास्क अलराउन्डर हुन् । उनले टी–२० आइमा ८० खेलमा ४५ विकेट लिएका छन् । ’एनपिएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु, हामी मैदानमा जोसिलो क्षण तय गर्न तत्पर छौँ,’ माइकलले भने ।
काठमान्डुको ट्यालेन्ट हन्ट
काठमान्डु गुर्खाजले ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ । काठमाडौंको बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी)मा पहिलो दिनको छनोटमा ठुलो संख्यामा खेलाडीहरू आफ्नो प्रतिभा देखाउन आएका थिए । काठमान्डुका सिइओ सन्देश कटवालले आफ्नो टोलीमा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले क्यानअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई केन्द्रित गरेर ट्यालेन्ट हन्ट आयोजना गरिएको जानकारी दिए । उनका अनुसार ३८० जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् । जसमा सिइसी काठमाडौंमा १५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘म पनि २२–२३ वर्षअघि तपाईंहरू जसरी नै यही बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर आज यो स्थितिमा आएको छु,’ क्यानका सचिव खड्काले भने, ‘आज तपाईंहरूलाई पनि यसरी नै अगाडि बढ्ने मौका काठमाडौेंले जुराइदिएको छ ।’