१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २९ बिहीबार o९:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धरहरा एक सातादेखि बन्द, अवलोकन शुल्क प्रस्ताव मन्त्रिपरिषदमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o९:५७:oo

३ असोजमा सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खोलिएको धरहरा पछिल्लो एकसातादेखि बन्द छ । यसबिच नि:शुल्क अवलोकनको व्यवस्था थियो ।

तर, अब अवलोकन शुल्क निर्धारणपछि सर्वसाधारणका लागि खोलिने सहकारी विकास मन्त्रालयले जनाएको छ । ‘लामो समयसम्म धरहरा नि:शुल्क सञ्चालन गर्न सकिँदैन । बिजुली, पानी, सरसफाइ, सुरक्षालगायत खर्च भइरहेको छ,’ सचिव मणिराम गेलालले भने, ‘हामीले छठपछि शुल्कसहित धरहरा खोल्ने निर्णय गरेका थियौँ । तर, हालसम्म शुल्क निर्धारण हुन सकेको छैन ।’

अस्थायी शुल्क निर्धारणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । तर, शुल्कबारे उनले खुलाउन चाहेनन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शुल्कसहित धरहरा खुल्ने उनले बताए । 

तर, सहरी तथा भवन निर्माण विभागअन्तर्गत आयोजना कार्यान्वयन एकाइले ट्रान्सफर्मर, लिफ्टलगायतको मर्मतका लागि धरहरा बन्द गर्नुपर्ने अवस्था आएको दाबी गरेको छ ।

धरहरामा दैनिक ६ सयजना चढ्न पाउने व्यवस्था थियो । ३ असोजमा पनि कार्यविधिविनै धरहरा सञ्चालन गरिएको थियो । हुन त ओली यसअघि प्रधानमन्त्री छँदा ०७८ मै धरहरा उद्घाटन गरिएको थियो । धरहरा अझै पूर्ण रूपमा बनिसकेको छैन । धरहरापरिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा पुनर्निर्माण सुरु भएको छैन ।

आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो ।

जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ ।