मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Thursday, 26 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ कार्तिक २७ मंगलबार o६:o३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उठ्न सकेन बाढीले तहसनहस बनेको दक्षिण ललितपुर, ३५० परिवारको उठीवास

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार o६:o३:oo

हराभरा र सुन्दर गाउँबस्ती दक्षिण ललितपुर गोटीखेलको पहिचान थियो । तर, अहिले स्वरूप नै बिग्रिएको छ । बस्ती र खेतका गरा बगरमा बदलिएका छन् । कच्ची सडकको नामोनिसाना छैन भने चहलपहल भइरहने गोटीखेल बजार सुनसान छ । असोजको दोस्रो साता आएको बाढीपछि महाँकाल गाउँपालिकाको विकसित क्षेत्र गोटिखेलको दृश्य यस्तै छ । 

बाढीले उठिबास भएकाहरू थातथलो छाडेर अन्यन्त्रै आश्रय लिन पुगेका छन् । महांकाल गाउँपालिकाका अनुसार ११ असोजमा धामी, बोल्बे र टुंगुन खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पालिकाका दुई सय घरमा क्षति भएको थियो । नौ स्थानीय व्यक्तिसहित दुई सयभन्दा बढी पशु चौपाया बाढीले बगायो भने पाँच सय रोपनीमा लगाएको धानबाली ध्वस्त बनायो । गोटिखेल क्षेत्रमा मात्रै तीन पक्कीसहित १० घर बाढीले बगाएको पालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिए । 

‘बाढीले पारेको क्षतिको समाधान पालिका एक्लैले गर्न सक्दैन, सबै बाटा पुरिएका छन्, गाउँबस्ती नै तहसनहस भएको छ, स्थानीयवासीको पुनर्वास गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारबाट आएको अनुदान तथा बजेटका आधारमा हामीले क्षतिको समाधान गछौंँ ।’ बाढीपछि तत्कालका लागि केन्द्र सरकारबाट एक करोड र प्रदेश सरकारबाट १५ लाख बजेट पालिकालाई आए पनि उक्त रकमले सरकारी संरचनामा पुगेको क्षतिसमेत समाधान गर्न नपुग्ने केसीको भनाइ छ ।

गाउँपालिकाको जम्मा बजेट पाँच करोड हाराहारी हो भने विपत् व्यवस्थापनमा १५ लाख रुपैयाँ छुट्याइएको थियो । तर, सोचेभन्दा ठुलो क्षति भएकाले समाधान गर्न बजेट नभएको पालिका प्रमुख केसीले बताए । महांकाल गाउँपालिकाका दुई सय हाराहारी घरमा पूर्ण क्षति भएको छ । दुई सय परिवारलाई पुनर्वासको खाँचो छ । तर, पालिकाले पुनर्वासको व्यवस्था गर्न सक्ने अवस्था नभएको पालिकाले जनाएको छ । 

बाढीले घरबारी बगाएपछि स्थानीयवासी आफन्त तथा छिमेकीकहाँ बसोबास गरिरहेको गोटिखेलका कमल तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गोटिखेलमा आएको बाढीपहिरोले पक्की घरसमेत बगाएको थियो । ‘मेरो दाइ, माइलो बुबालगायतको घर बाढीले बगायो, परिवारका तीनजनालाई गुमाउनुर्‍यो,’ उनले भने, ‘बाढीपछि खानेपानीको समस्या बढेको छ, बाटाघाटा पनि बिग्रिएका छन्, खेतीपाती गर्ने मलिला खेतबारी बगर बनेका छन् ।’ उनका अनुसार पीडितहरू आफन्तको घरमा बसेका छन् । कतिपय चापागाउँ तथा भैँसेपाटी क्षेत्रमा भाडामा बस्न थालेका छन् । 

ठुलो प्राकृतिक विपत्तिको चपेटामा परेको गोटीखेल तत्काल उठ्ने अवस्थामा देखिँदैन । यहाँ बाढी नपसेको र क्षति नपुगेको कुनै घर छैन । सामान्य क्षतिदेखि ठुलो क्षतिसम्म व्यहोरेका स्थानीयहरू बाढीपहिरोले पारेको क्षतिबाट कसरी उम्कने भन्ने चिन्तामा छन् । बाढीपछि महांकाल– २ मा पर्ने ठोस्ने खोला बस्ती पुनर्वास गर्नुपर्ने अवस्था छ । त्यस्तै, वैतरणी–धाम क्षेत्रका घरहरू पनि बस्न सक्ने अवस्थामा छैनन् । पालिकाले जोखिम अवस्थामा रहेका घर र स्थानीयलाई आश्रयको लागि अन्य ठाउँ खोज्ने बताएको छ । त्यस्तै, टुंगुन खोलामा आएको बाढीले आसपासका घरहरूमा क्षति पुर्‍याएको थियो । यो खोला बगुवाबाट बागमती नदीमा मिसिन्छ । त्यस्तै, महांकाल– ६ को ठुलोदुर्लुङमा पनि ९ घर पहिराले बगाएको थियो । 

महांकाल र कोन्ज्योसोम गाउँपालिकाका साढे तीन सय घरपरिवार विस्थापित हुने अवस्थामा
महांकाल गाउँपालिकाका दुई सय हाराहारी घरमा पूर्ण क्षति भएको छ । दुई सय परिवारलाई पुनर्वासको खाँचो छ । तर, पालिकाले पुनर्वासको व्यवस्था गर्न सक्ने अवस्था नभएको पालिकाले जनाएको छ । दक्षिण ललितपुरकै कोन्ज्योसोम गाउँपालिकाका १५१ घरपरिवार बाढीपछि उठीवास हुने अवस्थामा छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार सिलिगेबेँसी, नल्लु, भारदेउ, चौघरे र शंखु क्षेत्रका १५१ घरमा पूर्ण क्षति पुगेपछि स्थानीय आफन्त तथा अस्थायी संरचनामा बसोवास गरिरहेका छन् । बाढीपहिरोका कारण यस पालिकाका करिब नौ सय संरचनामा क्षति पुगेको छ । सडक सञ्जाल बिग्रिएका छन् भने खानेपानीका ट्यांकीसमेत बाढीले बगाएको छ । 

बागमतीको बाढीले प्युटार, गिम्दी र घुसेल क्षेत्रको खेतीपातीमा क्षति 
काठमाडौं सहर नै डुबाउने गरी उर्लिएको बागमती नदी दक्षिण ललितपुर हुँदै बग्छ । दक्षिण ललितपुरमा बागमती नदी क्षेत्रमा खेतीयोग्य जमिन प्रशस्त छ । यसपटक बागमतीको बाढीले दक्षिण ललितपुरको खेतीपाती तहसनहस पा¥यो । खेतका गरा र बारीमा बाढी पस्यो । पाकेर काट्नलाई ठिक्क भएको धान स्याहार्न नपाउँदै बाढीले बगाएपछि स्थानीय चिन्तित बनेका छन् ।