१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २८ बुधबार o७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार o७:४२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा मंगलबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले तल्लोतटीय मुलुकहरूलाई संकटमा पुर्‍याउने बताए ।

‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन, तल्लोतटीय मुलुकहरूलाई संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न,’ पौडेलले भने । उनले यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत प्रस्ताव गरे । 

नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको उनले जानकारी दिए । राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको बताए । ‘गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्दछ,’ उनले भने । जलवायु परिर्वतनको मारबाट पृथ्वी नै संकटमा रहेको उनको भनाइ थियो । विशेषगरी गरिब, अल्पविकसित, विकासशील तथा साना टापु मुलुकहरू यसको पीडाबाट बढी प्रभावित रहेको उनको भनाइ थियो । 

पौडेलले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीडामा रहेको बताए । हालैको बाढीपहिरो तथा हिमताल विस्फोटलगायत विपत्बाट सयौँ मानिसको मृत्यु र अर्बौँको भौतिक क्षति भएको र त्यसको पुनस्र्थापना अझ भइनसकेको राष्ट्रपति पौडेलले जानकारी दिए । उनले प्रयासका तुलनामा जलवायु परिवर्तनको असर व्यापक रहेकाले चुनौती सामना गर्न क्षमता अभाव हुने बताए । जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानिनोक्सानी कोषलाई छिटो सञ्चालन गर्नसमेत आग्रह गरे ।