किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनकाे महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए।
जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन वि.सं. २००५ मा भएको थियो । किराँत समाज सुधारमा उनले पुर्याएकाे योगदानको कदर गर्दै उनलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनकाे योगदानको कदर गर्दै किराँत समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्दजयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्दजयन्ती मनाउने गरेको किराँत ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए।