पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै होटेलहरूलाई उद्योगको मान्यता प्रदान गर्नेलगायतका माग
पोखराका पर्यटन व्यवसायीहरूले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेसमक्ष विभिन्न सातबुँदे माग पेस गर्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले व्यवसायीहरूको तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न र होटेलहरूलाई उद्योगको मान्यता प्रदान गर्नेलगायतका सातबुँदे माग पेस गरेका हुन् ।
पोखरालाई पर्यटकीय राजधानी घोषणापश्चात् पर्यटकहरूको अधिक आगमन हुने अपेक्षा गर्दै गर्दा हालसम्म पनि पूर्ववत् अवस्थामा पर्यटकहरूको आगमन अपेक्षाकृत नहुँदा यस क्षेत्रका होटेल तथा पर्यटन व्यवसायीहरू अत्यन्त संकटमा रहेको उनीहरूले जनाएका छन् ।
सुवेदीले हस्तान्तरण गरेको मागपत्रमा पर्यटकीय राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिनुपर्ने, छिमेकी देशका सीमावर्ती सहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक सहरबिच आन्तरिक हवाई सञ्जाल विस्तार गरिनुपर्ने, सरकारले होटेल उद्योगलाई यथाशीघ्र उद्योगको मान्यता प्रदान गरी अन्य उद्योगहरूले प्राप्त गर्ने सेवा–सुविधाहरू होटेल उद्योगलाई पनि प्रदान गरिनुपर्ने, कृषि र ऊर्जा क्षेत्रको लगानीमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा पर्यटन क्षेत्रमा समेत लागू गरिनुपर्ने, पोखरासँग जोडिएको मुख्य राजमार्गको स्तरोन्नति कार्यमा ढिलाइ भएको हुँदा तोकिएको समयमा पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिइनुपर्ने, वातावरणीय अध्ययनको कारणले पर्यटन कार्यालय एवं विभागबाट नवीकरण हुन नसकेका साना तथा मझौला होटेल उद्योगहरूलाई सहज रूपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमतिपत्र नवीकरण गरिनुपर्ने साथै २०७२ भन्दाअघि निर्माण भएका साना तथा मझौला होटेल उद्योगहरूले गर्नुपर्ने वातावरणीय अध्ययनलाई खारेज गरिनुपर्ने, पोखरालाई २४सै घण्टा खुला गरिने घोषणा भएपश्चात् सञ्चालन भएका रात्रिकालीन व्यवसायहरूले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको ४२ बुँदे आचारसंहित पूर्ण रूपमा पालना नगरी सञ्चालन गर्दा दैनिक रूपमा ध्वनि प्रदूषण र सवारी दुर्घटनाका घटनाहरूमा वृद्धि हुँदै गएको हुँदा आवश्यक अनुगमन र सुरक्षा सावधानीका उपाय एवं पूर्वाधारहरू अपनाइनुपर्ने, नेपाल पर्यटन बोर्डलाई पर्यटकीय पूर्वाधार निर्माणमा भन्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको अधिकतम प्रचारप्रसार एवं ब्रान्डिङमा लगाउनुपर्ने र प्रदेशस्तरीय गण्डकी पर्यटन बोर्ड गठन गरिनुपर्नेलगायतका रहेका छन् ।
संघले गण्डकी प्रदेश तथा समग्र नेपालको पर्यटन प्रवर्द्धन एवं दिगो पर्यटन विकासलाई प्रभावकारी बनाउन आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी विगत चार दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै हजाराैँलाई रोजगार प्रदान गर्दै आएकोसमेत सुवेदीले बताएका थिए।
पर्यटन व्यवसायीको समस्या र माग सुनेपछि मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडानसम्बन्धी प्राविधिक कारण हो वा अन्य कारण हो मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने काम भइरहेको जानकारी दिएका थिए । उनले होटेल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्ड निर्माण गर्दै गरेको जानकारी दिँदै पर्यटन क्षेत्रका समस्या समाधान गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।