गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी प्रमाणित भएपछि उनी जेल चलान भएका हुन् । सर्वोच्च अदालतले उनीविरुद्ध गत २० कात्तिकमा कसुर प्रमाणित गर्दै पाँच वर्ष कैद सजाय सुनुवाइ गरेको थियो । त्यसलगत्तै उनी भूमिगत भएका थिए । खोजीका क्रममा उनी नागार्जुन नगरपालिका– २ सानो भर्याङस्थित कम्फर्ट हाउजिङमा लुकेर बसेको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली घटनास्थल पुगेर पक्राउ गरेको थियो । उनलाई मंगलबार नै जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । उनलाई बाँकी कैद सजाय भुक्तान गर्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ ।
सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतको फैसलापछि लुकेर बसेका मनाङेलाई कम्फर्ट हाउजिङबाट पक्राउ गरिएको बताए । ‘ज्यान मार्ने कसुर प्रमाणित गर्दै मनाङेविरुद्ध गत २० कात्तिकमा अदालतले पाँच वर्ष कैद सजाय हुने फैसला गर्यो । त्यसलगत्तै भूमिगत बनेका उनको खोजीमा थियौँ । उनी काठमाडौंको कम्फर्ट हाउजिङमा लुकेर बसेको सूचना आयो । प्रहरी टोली पुग्दा त्यहीँ भेटिएपछि पक्राउ परे । उनलाई अहिले कारागार चलान गरिसकिएको छ,’ उनले भने ।
प्रहरीका अनुसार मनाङे हाउजिङमा चार दिनदेखि लुकिछिपी बस्दै आएका थिए । हाउजिङस्थित भवन उनको आफन्तको हो । तर, उनी आफ्नो अधिवक्तासँग भने नियमित परामर्शमा थिए । यस क्रममा उनलाई अधिवक्ताले अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कारागार जानु नपर्ने सुझाव दिँदै आएका थिए । तर, मंगलबार बिहान प्रहरीको टोली एकाएक भवनभित्र प्रवेश गरेपछि उनी आत्तिएका थिए ।
‘अदालतको फैसलाको पूर्णपाठ आएपछि मात्रै कारागार जाने सल्लाह आफ्ना अधिवक्ताहरूले दिएको’ भन्दै मनाङे प्रहरीसँग जान मानिरहेका थिएनन् । यसका लागि प्रहरीले मनाङेलाई कानुनी व्यवस्था र विगतका नजिर सम्झाउनुपरेको थियो । त्यसपछि मात्रै उनी प्रहरीसँगै जान राजी भएका थिए । मनाङे पक्राउमा खटिएका सिआइबीका एक अधिकारीले भने, ‘भूमिगत रहे पनि उनी अधिवक्ताहरूसँग भने नियमित परामर्शमा रहेछन् । यस क्रममा उनीहरूले अहिले नै कारागार जान नपर्ने, त्यसका लागि अदालतको पूर्ण फैसला आउनुपर्ने सुझाएका रहेछन् । त्यही मनस्थितिमा उनी हाउजिङमा ढुक्कले बसेका रहेछन् । प्रहरीको टोली पुगेपछि भने उनी झसंग भएका थिए । सुरुमा उनीसँग आउन मानेनन् । तर, सम्झाइबुझाई गरेपछि भने उनी तयार भए ।’
०६१ मा महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा तरबार हानाहान
ठेक्कापट्टा र असुली धन्दामा संलग्न मनाङे र चक्रे मिलन (मिलन गुरुङ) समूहबिच ३१ वैशाख ०६१ मा महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा तरबार हानाहान भएको थियो । यस क्रममा चक्रेको हात नै दुई ठुन्का भएको थियो । महाराजगन्जस्थित शिक्षण अस्पतालमा भएको उपचारपछि मात्रै उनको हात जोडिएको थियो । चक्रेले मनाङेसहित पाँचजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा जिल्ला अदालतले उनीसहित पाँचैजनालाई सफाइ दिएको थियो । त्यसपछि चक्रे मुद्दाको पुनरावेदन गर्न तत्कालीन पुरावेदन अदालत पाटन (हाल उच्च अदालत) पुगेका थिए । उच्चले भने २८ साउन ०६९ मा उनीविरुद्ध पाँच वर्ष कैद सजाय सुनाएको थियो । मुद्दामा जोडिएका अन्य चारजनाले भने सफाइ पाएका थिए ।
मनाङेले उक्त फैसलाको म्याद गुज्रिएपछि अर्थात् ३ फागुन ०७५ मा मात्रै सर्वोच्चमा पुनरावेदन गरेका थिए । सोही मुद्दामा सर्वोच्चले गत २० कात्तिकमा तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको हो । मनाङेले यसअघि दुई वर्ष आठ महिना डिल्लीबजार कारागारमै कैद भुक्तान गरिसकेका छन् । फैसलापछि अब उनले दुई वर्ष चार महिना कैद सजाय भुक्तान गर्नुपर्नेछ ।
६ वर्षमा ६ पटक प्रदेश मन्त्री
विभिन्न मुद्दा खेपिरहेका मनाङे नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल बस्न नपर्ने र बाहिर बसेर मुद्दा लड्न पाउने भनी गरेको व्यवस्थाअनुसार ६ पुस ०७५ मा सर्वोच्चको आदेशमा कारागरमुक्त भएका थिए । यसबिचमा मनाङे गण्डकी प्रदेशमा दुईपटक सांसद र ६ पटक मन्त्री बन्न सफल थिए । १० मंसिर ०७४ मा भएको पहिलो चरणको आमनिर्वाचनमा मनाङ (२) बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी भएका उनी ०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका थिए । दुईपटक सांसद मात्र भएनन्, यसबिचमा उनी ६ पटक मन्त्रीसमेत बने । गण्डकी सरकार बनाउन र ढाल्न तीनपटक निर्णायकसमेत बने ।
मनाङे पहिलो कार्यकालमा एकपटक सरकार गठनका लागि बहुमत पुर्याउन निर्णायकसमेत बने । पहिलो कार्यकालमा उनी तीनपटक युवा तथा खेलकुदमन्त्री भए । दोस्रो कार्यकालमा भने उनी दुईपटक सरकार बनाउन निर्णायक बने । यसबिचमा उनी तीनपटक भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नियुक्त भएका थिए । गत असारमा नयाँ सत्तागठबन्धन बनेसँगै १७ भदौ ०८१ मा सरकार विस्तारका क्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
सांसद र मन्त्री हुँदा सधैँ विवादमा
मनाङे सांसद र मन्त्री हुँदा सधैँ विवादमा रहे । कहिले बोलीका कारण, कहिले कर्मचारी र कहिले एन्फाका उपाध्यक्षलाई कुटेर उनी विवादमा आइरहे । आफ्ना स्वकीय सचिवलाई कार्यवाहक मन्त्रीको जिम्मा दिएपछि पनि उनी विवादमा आए । कुटपिटको आरोपमा उनी पक्राउ परेर धरौटीमा समेत छुटेका थिए । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप उद्घाटका दिन ७ माघ ०७६ मा एन्फा कास्कीका अध्यक्षसमेत रहेका प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष मिलन गुरुङमाथि उनले हातपात गरेका थिए । त्यसपछि गुरुङले दिएको उजुरीका आधारमा तत्कालीन प्रदेश सांसद रहेका मनाङेलाई ९ माघमा प्रहरीले पक्राउ गरेको थियो । चार दिनपछि १२ माघमा जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार धरौटी लिएर उनलाई तारेखमा छाडेको थियो । त्यसपछि युवा तथा खेलकुदमन्त्री हुँदा आफ्नै मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेलाई पेपरवेटले हानेका थिए ।