नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५७५ प्रतिनिधि निर्वाचित गरेकाे छ ।
यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट ३०४ प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसंगठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन्। यसरी छनोट भएका प्रतिनिधिमध्ये समावेशी, दलित, जनजाति र अन्य गरी २५३ छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिनेछ। अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरिएको कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।
यसैगरी, पार्टीले संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्ने भएको छ । नेताहरूको क्षमता, विगतका कार्य सम्पादनको मूल्यांकन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सांगठनिक भूमिकाको कार्यविभाजनको गृहकार्य गरेको छ।
समान विचारधारा भएका पार्टी, कम्युनिस्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पार्टी केन्द्रीय सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।