मध्यपुरलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी गराएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गर्न लागेको महोत्सव पुस १२ देखि १४ गतेसम्म चल्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
नयाँ थिमिको शंखधर चोकदेखि नगदेश र बोडे हुँदै तिगनीको नीलवाराही स्थानसम्मको ऐतिहासिक क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिने नगर प्रमुख श्रेष्ठले प्रस्ट पारे । सो क्षेत्र करिब साढे पाँच किलोमिटर लामो रहेको छ ।
मध्यपुरथिमिका मुख्य ऐतिहासिक एवं पुरातात्विक स्मारक अवलोकन गर्न सकिने गरी डिजाइन गरिएको महोत्सवमा स्थानीय जात्रा, नाच र सास्कृतिक पर्वहरूको पनि पहिचान झल्कने प्रस्तुति रहनेछ । साथै, परम्परागत पेसा, व्यवसाय, सीप र जीवनशैली पनि प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले महोत्सव आयोजक समिति र सचिवालय बनाएर काम गरिरहेको बताए ।
१० उपसमितिसमेत बनाइएको बताउँदै उनले महोत्सवमा करिब दुई करोड खर्च हुने अनुमान गरिएको र करिब पाँच लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा राखिएको जानकारी दिए ।