१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २५ आइतबार o९:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनलाइन बैंकिङ अपडेट भन्दै ह्याकरले चोरे जनप्रतिनिधिकै खाताबाट तीन लाख 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार o९:३२:oo

नागार्जुन नगरपालिकाका एक वडा सदस्यको खाताबाट शुक्रबार तीन लाख चोरी भएको छ । बैंकबाट फोन गरेको भन्दै खाताको विस्तृत विवरण मागेर अनलाइनमार्फत पैसा चोरी भएको हो । 

कृषि विकास बैंकमा रहेको खाताबाट ह्याकरले अनलाइन ट्रान्सफर गरी पैसा चोरी गरेका हुन् । ह्याकरले बैंकको आइटी शाखाबाट अनलाइन बैंकिङ सिस्टम अपडेटका लागि भन्दै खाता नम्बर र जन्म मिति मागेका थिए । विश्वासमा परेर उनले खाता नम्बर र जन्ममिति मात्र होइन, ओटिपीसमेत दिए । त्यसको केही समयमै उनको खाताबाट तीन लाख रुपैयाँ अन्यत्र ट्रान्सफर भएको हो । चारवटा बैंक खाता हुँदै पछि आइएमईबाट उक्त रकम निकालिएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले पछिल्लो समय यस्ता उजुरी बढेको भन्दै सजग हुन सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रारम्भिक अनुसन्धानमा अर्काको नागरिकताको फोटोकपीका आधारमा उक्त व्यक्तिले सिम कार्ड निकालेर त्यसबाट खाताधनीलाई फोन गरेको देखिएको सिआइबीका एसपी होवीन्द्र बोगटीले बताए । यसमा ठुलै गिरोह संलग्न रहेको आशंका गरिएको छ । यस्तो समूहले विभिन्न बहानामा अन्य व्यक्तिको खाता रकम ट्रान्सफरका लागि प्रयोग गर्छन् । जसका कारण अपरिचित व्यक्तिलाई आफ्नो खाता प्रयोग गर्नसमेत नदिन प्रहरीले भनेको छ ।

शुक्रबार नै खेलाडी दीपक विष्टको खाताबाट पनि त्यसैगरी रकम निकाल्ने प्रयास भएको थियो । कृषि विकास बैंकको प्रधान कार्यालयबाट भन्दै उनलाई फोन गरी खाता नम्बर र जन्ममिति मागिएको थियो । सुरुमा उनले खाता नम्बर र जन्ममिति समेत दिए । पछि शंका लागेर तत्कालै खाता रोक्का गराएको र ठगीनबाट जोगिएको उनले सामाजिक सञ्जालबाट घटनाबारे जानकारी गराएका छन् । 

पछिल्लो समय कृषि विकास बैंकका खाताधनीलाई लक्षित गरी यसरी खाताबाट पैसा चोर्ने घटना बढेको प्रहरीले जनाएको छ । बैंकबाट भन्दै खाता नम्बर, ओटिपीलगायत विवरण माग्ने र अनलाइन बैंकिङ सिस्टम ह्याक गरेर पैसा चोरी हुने गरेको छ ।

प्रहरीको सिआइबीले शुक्रबार नै सूचना जारी गरी अनलाइन ठगीका घटना बढेको भन्दै शंकास्पद नम्बरबाट फोन आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । बैंकको कर्मचारी हुँ भन्दै फोन गर्ने खाता नवीकरण तथा अपडेटका लागि भनेर विवरण माग गरी अनलाइन बैंकिङ ह्याक गरेर हुने ठगी बढेको सिआइबीका एसपी बोगटीले बताए । प्रहरीको साइबर ब्युरोमा समेत यससम्बन्धी ठगीका उजुरी बढेका छन् ।