नेपालमा जीवन बिमामा आबद्ध नेपालीको संख्यामा गिरावट आएको छ । पछिल्लो १५ महिना (आव ०८०/८१ र आव ०८१/८२ को पहिलो त्रैमास)मा नेपालमा बिमाको पहुँच १.५४ प्रतिशत विन्दुले घटेको छ ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८१/८२ को तेस्रो महिनासम्म बिमा पहुँच ४२.८४ प्रतिशतमा सीमित भएको छ । यसअघि असार ०८० मा ४४.३८ प्रतिशत नेपालीमा बिमाको पहुँच पुगेको थियो, जुन हालसम्मकै उच्च पनि हो । तर, त्यसपछि बिमा गर्ने नेपालीको संख्यामा कमी आउन थालेको तथ्यांकले देखाउँछ । साउन ०८० मै बिमा पहुँच ४४ प्रतिशतमा सीमित भएको थियो । असार ०८१ सम्म आउँदा अझ घटेर ४३.२७ प्रतिशतमा सीमित भयो । अहिले चालू आवको असोज मसान्तसम्म अझै घटेर ४२.८४ प्रतिशतमा सीमित भएको छ ।
सक्रिय बिमालेख पौने चार लाखले घट्यो
बिमा पहुँच गणना गर्ने प्रमुख सूचक अर्थात् सक्रिय जीवन बिमालेखको संख्या पनि निरन्तर घट्दै गएको छ । एक व्यक्तिले दोहोरो बिमालेख पनि खरिद गर्ने भएकाले सक्रिय बिमालेख संख्यालाई ५ प्रतिशतले घटाएर बिमा पहुँच गणना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।
पछिल्लो १५ महिनामा सक्रिय बिमालेखको संख्या तीन लाख ७० हजार आठ सय ७३ ले घटेको छ । ०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । असार ०८० मा सक्रिय बिमालेख संख्या एक करोड ४१ लाख ३७ हजार तीन सय २१ थियो । गत असार ०८१ सम्म त्यो घटेर एक करोड ३८ लाख ८१ हजार चार सय ९२ वटामा सीमित भयो । असोजसम्म थप घटेर एक करोड ३७ लाख ६६ हजार चार सय ४८ वटामा सीमित भएको तथ्यांकमा उल्लेख छ । सोअनुसार बिमा सेवामै आबद्ध सेवाग्राही पनि बिमाबाट बाहिरिएको पुष्टि भएको छ । तथ्यांकअनुसार समीक्षा अवधिमा तीन लाख ७० हजार आठ सय ७३ जना बिमा सेवाबाट बाहिरिएका छन् । नयाँ बिमित (बिमालेख) समावेश नगरेको अवस्थामा यो संख्या अझ बढी हुन सक्छ ।
बिमामा आबद्ध नागरिक बाहिरिने र नयाँ जोडिने प्रक्रिया नियमित हुन्छ । तर, विगतमा बिमाबाट बाहिरिनेभन्दा भित्रिने व्यक्ति बढी हुन्थे । त्यसले गर्दा बिमा पहुँच निरन्तर बढ्दै जाने गरेको थियो । तर, पछिल्लो समय बिमा सेवाबाट बाहिरिने व्यक्ति बढेका छन् । तर, त्यसको तुलनामा बिमा गर्नेको संख्या न्यून छ । त्यसले गर्दा बिमा पहुँच घट्न गएको नेपाल बिमा प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
यसबिचमा जीवन बिमा कम्पनीहरूले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँबाट बढाएर पाँच अर्ब पुर्याउनुपर्ने व्यवस्था गरिएको छ । पुँजी बढाउनकै लागि ११ वटा जीवन बिमा कम्पनी मर्जरमा पनि सहभागी भए । सोही कारण १९ जीवन बिमा कम्पनीको संख्या १४ वटामा कायम भएको छ । पुँजी वृद्धि र मर्जरले बिमा सेवा विस्तार गर्ने क्षमता बढेको छ । त्यसमाथि पछिल्लोपटक थपिएका सात लघु बिमा कम्पनीमा तीनवटा लघु जीवन बिमा कम्पनी छन् । यसका अलाबा नियामक निकाय प्राधिकरण र बिमा कम्पनीहरूले पनि बिमा सेवा विस्तार गर्न विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । तर, सरकारी तथ्यांकले नै बिमा पहुँच घट्दै गएको पुष्टि गरेको छ ।
आर्थिक शिथिलताको असर
विशेष गरी पछिल्लो समयमा कायम आर्थिक शिथिलताले बिमा पहुँच घटेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । आर्थिक शिथिलताकै कारण मर्जर र लघुबिमा कम्पनीको प्रभाव देखाउन नसकिएको उनको भनाइ छ । ‘झन्डै डेढ–दुई वर्षदेखि नेपाली अर्थतन्त्र शिथिल अवस्थामा छ । त्यसले कतिपय व्यक्तिको आम्दानी प्रभावित भएको छ । सोही कारण बिमा गरेकै मध्ये कतिपय बिमालाई निरन्तरता दिन सकेका छैनन् । केहीले आफ्नो बिमा पोलिसी सरेन्डर गरेका छन् । कतिपयको बिमालेख नवीकरण नभएर निष्क्रिय (ल्याप्स) भएर बसेको छ,’ उनले भने, ‘त्यसमाथि नयाँ बिमा गर्नेको संख्या पनि कम छ । त्यसले गर्दा बिमाको पहुँच घट्दै गएको छ ।’
प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले पुस मसान्तसम्म पुग्दा बिमा पहुँच बढ्न सक्ने बताए । ‘आर्थिक शिथिलताले गर्दा यस्तो अवस्था आएको छ । तर, पुस मसान्तसम्म पुग्दा बिमा पहुँच बढ्छ । हामीले त्रैमासिक रूपमा लक्ष्य निर्धारण गरेर काम गर्दै आएका छौँ । पुस मसान्तसम्म पुग्दा केही बढ्न सक्छ,’ उनले भने, ‘यसबिचमा बाढीपहिरो, दसैँ–तिहारलगायतका बिदाले पनि बिमा सेवा प्रभावित भएको हुन सक्छ । तर, हामीले बिमा पहुँच बढाउन अन्तक्र्रिया गर्ने, विभिन्न जानकारी तथा चेतनामूलक सामग्री प्रचारप्रसार गर्नेलगायतका काम गरिरहेका छौँ । त्यसअनुसार आगामी दिनमा बिमा पहुँच बढ्छ । बिमा पहुँच बढाउन रणनीतिक रूपमै काम गरिरहेका छौँ ।’
चालू आवमा ५० प्रतिशत पुर्याउने लक्ष्य, प्राप्तिमा चुनौती
प्राधिकरणले चालू आव ०८१/८२ मा बिमा पहुँँच ५० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ । तर, लक्ष्य प्राप्ति हुने सम्भावना न्यून देखिएको स्रोतको भनाइ छ । ‘असोजसम्म बिमा पहुँच ४३ प्रतिशतभन्दा कम नै छ । यो गत आवको भन्दा पनि कम हो । नयाँ बिमा गर्नेको संख्या पनि धेरै देखिएको छैन । सरेन्डर अझै पनि उच्च छ । त्यसअनुसार यो आर्थिक वर्षान्तसम्म पुग्दा बिमा पहुुँच ५० प्रतिशत पुर्याउन करिब असम्भव नै छ,’ स्रोतले भन्यो, ‘४५ प्रतिशतभन्दा माथि पुग्यो भने पनि राम्रो मान्नुपर्छ ।’
एक लाख ४२ हजार पोलिसी सरेन्डर
पछिल्लो एक वर्ष तीन महिनामा एक लाख ४२ हजार ३३ वटा बिमा पोलिसी बन्द (सरेन्डर) भएका छन् । उक्त संख्यामा पोलिसी सरेन्डर गरेर बिमितले १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ फिर्ता लगेका छन् । त्यसमा गत आव ०८०/८१ मा १४ अर्ब ५० करोड १२ लाखबराबरका एक लाख १३ हजार नौ सय ७६ वटा पोलिसी सरेन्डर भएका थिए । चालू आवको पहिलो त्रैमासमा तीन अर्ब ८२ करोड ४६ लाख रुपैयाँबराबरका २८ हजार ५७ वटा पोलिसी सरेन्डर भएका छन् । यसरी पोलिसी सरेन्डर उच्च हुँदा पनि बिमा पहुँच घटेको प्राधिकरणको भनाइ छ ।
बिमितले सामान्यतः १०, १५, २०, २५ वर्षलगायत अवधि राखेर बिमा गर्छन् । तर, तीन वर्षको किस्ता तिरेपछि बिमितले अवधि नसकिँदै पनि पोलिसी सरेन्डर गरेर रकम फिर्ता लैजान पाउँछन् । सोहीअन्तर्गत बिमितले पोलिसी बन्द गरेका छन् । यसले पनि बिमा पहुँच घटाएको छ ।
बिमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी भन्छन्–
आर्थिक शिथिलताले गर्दा यस्तो अवस्था आएको छ । हामीले त्रैमासिक रूपमा लक्ष्य निर्धारण गरेर काम गर्दै आएका छौँ । पुस मसान्तसम्म पुग्दा बिमा पहुँच केही बढ्न सक्छ । यसबिचमा बाढीपहिरो, दसैँ–तिहारलगायतका बिदाले पनि बिमा सेवा प्रभावित भएको हुन सक्छ । तर, हामीले बिमा पहुँच बढाउन अन्तक्र्रिया गर्ने, विभिन्न जानकारी तथा चेतनामूलक सामग्री प्रचारप्रसार गर्नेलगायतका काम गरिरहेका छौँ । त्यसअनुसार आगामी दिनमा बिमा पहुँच बढ्छ । बिमा पहुँच बढाउन रणनीतिक रूपमै काम गरिरहेका छौँ ।