कम्युनिस्ट पार्टीका नेताहरूले यथास्थितिमा समाजवादी आन्दोलन अगाडि बढ्न नसक्ने बताएका छन् । कम्युनिस्टप्रति जनतामा शंकासहित विश्वास कायमै रहेको भन्दै उनीहरूले नयाँ शिराबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादी नेता लेखनाथ न्यौपाने, क्रान्तिकारी माओवादीका नेता जगदीशचन्द्र भण्डारी र मसालका प्रवक्ता रामप्रकाश पुरीले नयाँ शिराबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
एकीकृत समाजवादीका महासचिव भुसालले लेनिनलाई समग्रतामा हेर्नुपर्नेमा जोड दिए । सय वर्षअघिको लेनिन नभई आजको लेनिनको पुनः जागृत गर्नुपर्ने उनले बताए । ‘हामीकहाँ घुस नखाने व्यक्तिहरू धेरै छन् । तर, घुस नखाने पार्टी बनाउनुप¥यो । घुस नखानेबित्तिकै मुलुक पनि त्यसैगरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ । त्यसका लागि तपाईंले साम्राज्यवादसँग लड्नुपर्छ । आजको लेनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लेनिन होइन, आजको लेनिनलाई पुनः जागृत गर्नुहुन्छ । यदि, साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनीन बन्ने क्रम सुरु हुन्छ,’ उनले भने ।
माओवादी नेता न्यौपानेले विचार र ज्ञान उत्पादन हुन नसकेको बताउँदै यथास्थितिमा नेपालका अहिलेका दलबाट समाजवाद सम्भावना नभएको बताए । ‘अहिलेका दलबाट समाजवाद सम्भव हुने देखिँदैन । कम्युनिसटप्रति जनताको शंकासहित विश्वास छ । त्यसलाई साकार पार्न सही अर्थको माक्र्सवादी हुनुपर्छ,’ उनले भने ।
क्रान्तिकारी माओवादीका नेता भण्डारीले दक्षिणपन्थी अवसरवाद र वामपन्थी अवसरवाद देख्न सक्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थाले कम्युनिस्ट आन्दोलन सही बाटोमा जान नसक्ने उनको ठोकुवा छ । नेपालका कम्युनिस्ट लेनिनवादी नभएको भन्दै उनले क्रान्तिकारी रणनीतिविना कम्युनिस्टको अर्थ नहुने बताए । ‘माक्र्सवादलाई माथिल्लो तहमा पु¥याउने काम अक्टोबर क्रान्तिबाट भयो । त्यसका लागि लेनिनले वर्गसंघर्ष गर्नुभयो । त्यो साम्राज्यवादविरुद्ध सर्वहारा क्रान्ति थियो । लेनिन र अक्टोबर क्रान्तिलाई हामीले भुल्नु हुँदैन,’ उनले भने ।
मसाल प्रवक्ता पुरीले समाजवादको विषयमा आन्दोलित हुनुपर्नेमा जोड दिए । ‘संगठित आन्दोलनको सुरुवात लेनिनले गरे । कुरा गरेर मात्र हुँदैन, काम गर्नुपर्छ । निर्णायक भूमिका जनताको हुन्छ । पुँजीपतिले तिर्ने लेबी लेनिनले मान्नुभएन । कम्युनिस्ट पार्टी विभाजन किन ? ठोस स्थितिको ठोस विश्लेषण गरौँ । अक्टोबर क्रान्ति सपना हो, अब समाजवादी व्यवस्थामा जानुपर्छ,’ उनले भने ।