सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा आगामी फेब्रुअरीमा हुने च्याम्पियन्स ट्रफीमा खेल्न नजाने भारतको निर्णय
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले सुरक्षाको कारण देखाउँदै च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने निर्णय गरेको छ । आइसिसीको तालिकाअनुसार १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तानमा च्याम्पियन्स लिग हुने तय छ । पाकिस्तान यसपटकको आयोजक राष्ट्र हो । बिसिसिआईले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)लाई शुक्रबार पत्र पठाउँदै सुरक्षाका कारण भारतीय टोलीले पाकिस्तानमा च्याम्पियन्स लिग खेल्न असमर्थ भएको जनाएको छ ।
भारतले पाकिस्तानविरुद्धको प्रतिस्पर्धा दुबईमा गराउन आयोजक तथा आइसिसीसँग आग्रहसमेत गरेको एजेन्सीले जनाएको छ । ‘हामी पाकिस्तानमा गएर खेल्न सक्दैनौँ, त्यहाँको सुरक्षा व्यवस्थाप्रति शंका छ, यसकारण नै पाकिस्तान नजाने निर्णय भएको छ,’ बिसिसिआईले जनाएको छ, ‘च्याम्पियन्स लिगमा पाकिस्तानमा हुने भारतको खेल दुबईमा आयोजना गर्न आइसिसीसँग आग्रह गरिएको छ ।’ पाकिस्तानको कराँची, लाहोर र रावलपिण्डीमा खेल हुनेछन् । भारतले एसिया कपमा जस्तो हाइब्रिड मोडेल रणनीति अपनाउने तयारी गरेको छ ।
च्याम्पियन्स लिगको ‘ड्र’अनुसार समूह ‘ए’मा भारतर, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान रहेका छन् । भारतले २० फेब्रुअरीमा बंगलादेश, २४ फेब्रुअरीमा पाकिस्तान र २ मार्चमा न्युजिल्यान्डसँग खेल खेल्ने तालिका रहेको छ । भारतका सबै खेल लाहोरमा हुनेछ । पिसिबीले भारतको निर्णय सम्बन्धमा केही पनि प्रतिउत्तर दिएको छैन ।
१६ वर्षदेखि पाकिस्तान नगएको भारत
पाकिस्तानी भूमिमा भारतीय क्रिकेट टोली प्रतिस्पर्धा गर्न नजाने यो पहिलो घटना होइन । सन् २००७/०८ देखि यस्तो निर्णय बिसिसिआईले गर्दै आइरहेको छ । १६ वर्षअघि पाकिस्तानी आतंकवादीहरूले मुम्बई आक्रमण गरेको दाबी भारतीय पक्षको छ । त्यसवेलादेखि दुई पक्षबिचको सम्बन्ध राम्रो हुन सकेको छैन । त्यसै समयमा भारत र पाकिस्तानबिच सिरिज हुने थियो । तर, मुम्बई घटनापछि भारतले पाकिस्तानमा कुनै पनि प्रतियोगितामा भाग नलिने निर्णय गरेको छ । यद्यपि, एसिसी र आइसिसीले आयोजना गर्ने सबैखाले प्रतियोगितामा भारतले पाकिस्तानमा गएर खेलेको छैन ।
यसविपरीत पाकिस्तान भने भारतमा खेल्न आएको छ । एसिसी र आइसिसीले आयोजना गर्ने प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबिचको खेल तटस्थ भूमिमा भइरहेको छ । यो १६ वर्षभित्र १३ एकदिवसीय र ८ टी–२० आई खेल भएका छन् । दुई वर्षअघि एसिसी ट्रफीअन्तर्गत भारत र पाकिस्तानबिचको खेल श्रीलंकामा भएको थियो ।
गत वर्ष भारत आएको थियो पाकिस्तान
एकातिर भारतले पाकिस्तानमा गएर नखेल्ने एकोहोरो निर्णय लिइरहेको छ । तर, पाकिस्तान भने भारतमा आएर खेल्ने गरेकोे छ । गत वर्ष भारतले आयोजना गरेको आइसिसी एकदिवसीय विश्वकपमा सहभागी भएको थियो । १४ अक्टोबरमा अहमदाबादमा भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । खेलमा जसप्रित बुमराह म्यान अफ दी म्याच भएका थिए । उनले १९ रन खर्चेर पाकिस्तानका दुई विकेट लिएका थिए ।
भारतले अन्तिमपटक पाकिस्तानी भूमिमा सन् २००८ मा सिरिज खेलेको थियो । तीन टेस्ट सिरिजमा भारतले पाकिस्तानलाई १–० ले हराएको थियो । पाकिस्तानले सन् २०१२–१३ मा भारत आएर अन्तिमपटक सिरिज खेल्यो । त्यसवेला तीन एकदिवसीय र दुई टी–२० आई सिरिज भएका थिए । पाकिस्तानले एकदिवसीय सिरिज २–१ ले जित्यो भने टी–२० आईमा बराबरी नतिजा निकाल्यो ।