अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन् । अमेरिकाको सर्वोच्च नेतृत्वमा ह्यारिसको रूपमा पहिलो महिला र अझ एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ ।
ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । त्यस्तै ट्रम्प विजयी भएमा दोस्रोपटक देशको सर्वोच्च पदमा पुग्ने अवसर पाउनेछन् । अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ । मतदाताले देशको राष्ट्रपतिसँगै संसद सदस्यहरू पनि चयन गर्नेछन् ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले मेक अमेरिका ग्रेट अगेन (एमएजिए) भन्ने आफ्नो नारालाई पुनः ब्युँताउँदै यसै साता न्युयोर्क सहरमा र्याली गरे । सो अवसरमा उनले आप्रवासनलाई नियन्त्रण गर्ने वाचा गर्दै ह्यारिसप्रति आक्रामक रूपमा प्रस्तुत भए ।
‘नोभेम्बर ५ हाम्रो देशको इतिहासमा सबैभन्दा महत्वपूर्ण मिति हुनेछ र हामी सबै मिलेर अमेरिकालाई फेरि शक्तिशाली बनाउनेछौँ,’ उनले भने । पूर्वराष्ट्रपतिले देश आर्थिक र सामाजिक संकटले ग्रस्त चित्रण गर्दै आएका छन् । ट्रम्पले ह्यारिसलाई पनि दोष दिए । उनले ह्यारिसलाई ‘कट्टरपन्थी वाम माक्र्सवादी’ भनेर वर्णन गर्दै देशले सामना गरेको संकट समाधान गर्न उनी अयोग्य रहेको दाबी गरे । ‘तपाईंले हाम्रो देशलाई ध्वस्त बनाउनुभयो,’ उनले अमेरिकी उपराष्ट्रपतिलाई लक्षित गर्दै भने ।