१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार ११:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्तिक शुक्ल चतुर्थी : छठको मुख्य व्रतविधि सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार ११:३५:oo

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि सुरु भएको छ। चतुर्थीका दिन आज बिहान व्रतालुले स्नान गरी एक छाक खाएर बसेका छन्। यसलाई ‘नहाय खाय’ भनिन्छ ।

छठको विधि कार्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भए पनि मुख्य व्रतविधि आजदेखि सुरु भएको हो। छठ व्रतविधिको दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिन बुधबार सखर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ। यसलाई खरना गर्ने भनिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिने विधिविधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए। यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ,’ उनले भने। यस वर्ष कात्तिक २३ गते शुक्रबार कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा–आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। वि.सं. २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ। सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत बागमती, नक्खु र विष्णुमतीलगायत नदीकिनारमा सजावट गरिएको छ। छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्ने गरेका छन् ।