१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार ११:३७:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गाजा युद्ध अन्त्य गर्छु : ह्यारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार ११:३७:oo

अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन् ।

अरबी अमेरिकीको बिचमा आफ्नो अन्तिम चुनावी सम्बोधनका क्रमला ह्यारिसले गाजा युद्ध समाप्त पार्ने घोषणा गरिन् । गाजा युद्धमा ४० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने दुई लाख विस्थापित बनेका छन् ।

‘राष्ट्रपतिको रूपमा म गाजामा युद्ध अन्त्य गर्न, बन्धकलाई घर फिर्ता गर्न र प्यालेस्टिनी जनताको सुरक्षाको अधिकार सुनिश्चित गर्न तत्पर छु,’ अन्तिम चुनावी सम्बोधनमा उनले भनिन् । ह्यारिसले ट्रम्पविरुद्धको आफ्नो अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाएकी छिन् । तर, सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकार खारेज गरेसँगै ह्यारिसले गर्भपतनको मुद्दालाई स्थापित गर्दै आएकी छिन् ।

आइतबार ह्यारिसले ‘गाजामा युद्ध समाप्त गर्न’ आफ्नातर्फबाट सक्दो प्रयत्न गर्ने वाचा गरिन् भने ट्रम्पले पेन्सल्भेनियामा धाँधली हुन सक्ने आशंका गरे । निर्वाचन प्रतिस्पर्धात्मक हुने देखिएको छ ।  उपराष्ट्रपति तथा डेमोक्य्राटिक उम्मेदवार कमला ह्यारिसले फिलाडेल्फियामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै कसैलाई पनि किनारा लगाउन नमिल्ने भन्दै अप्रत्यक्ष रूपमा आप्रावासीको बचाउ गरिन् । 

को हुन् ह्यारिस ?
५९ वर्षीया ह्यारिस एक भारतीय मूलकी आमा र जमैका मूलका बुबाकी छोरीको रूपमा क्यालिफोर्नियाको अकल्यान्डमा जन्मिएकी थिइन् । उनले क्यालिफोर्निया युनिभर्सिटी अफ क्यालिफोर्नियामा कलेज अफ द लबाट डिग्री हासिल गर्नुअघि वासिंटन डिसीको हावर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । सान–फ्रान्सिस्को जिल्ला अधिवक्ताको कार्यालयमा जानुअघि उनले अलमेडा काउन्टी जिल्ला अधिवक्ताको कार्यालयमा काम गरेकी थिइन् । उनी सन् २००३ मा सान–फ्रान्सिस्कोको जिल्ला न्यायधिवक्ता बनिन् र सन् २०१० मा क्यालिफोर्निया राज्यको कानुन प्रवर्तनको शीर्ष भूमिकामा देखिइन् ।

सन् २०१६ मा अमेरिकी सिनेटमा निर्वाचित भएकी ह्यारिस ट्रम्पको अध्यागमन नीतिको प्रमुख आलोचक बनिन् । सन् २०१८ मा सर्वोच्च अदालतका उम्मेदवार ब्रेट काभानाउप्रतिको आक्रामक प्रश्नले डेमोक्य्राटिक पार्टीको शीर्ष उदाउँदो स्टारहरूमध्ये एकजना स्टारको रूपमा उनको प्रमाणलाई सशक्त बनाउन मद्दत गर्‍यो । अमेरिकाले पहिलो अश्वेत मूलकी महिला राष्ट्रपति चाहेको र देश यसका लागि तयार हुनुपर्ने कतिपय विज्ञले जोड दिँदै आएका छन् । राष्ट्रपतिमा निर्वाचन भएमा उनले इतिहास रच्नेछिन् । अर्कोतर्फ ट्रम्प कुनै पनि हालतमा दोस्रोपटक देशको राष्ट्रपति बन्ने दाउमा छन् ।

ट्रम्पले सोमबार अटलान्टामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन् । त्यसअघि उनले एक हजार पादरी र धार्मिक नेतालाई सम्बोधन गरेका थिए । उक्त अवसरमा ट्रम्पले आर्थिक मुद्दालाई जोड दिएका थिए । १६ इलेक्टोरल कलेज भोटसहित जर्जिया अर्को ब्याटलग्राउन्ड राज्य हो । सन् २०१६ को निर्वाचनमा जितेका ट्रम्पले सन् २०२० मा भने झिनो मतले हारेका थिए ।