इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। सोमबार पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा क्रिचलीलाई भित्र्याएको हो।
यसअघि पोखराले वेस्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिसायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन्। सन् २०१५ मा कन्ट्री क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका थिए। क्रिचली दोस्रो खेलमै डर्बिसायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए।
पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठले क्रिचलीको प्रवेशसँगै एनपिएलमा पनि अर्को नयाँ इतिहास कोरिने बताए।
एनपिएलकै महँगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट टिममा छनोट गरेको छ।
यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रूपमा अनुबन्ध भइसकेका छन्। त्यस्तै, आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिसकेको छ।
एनपिएपल आगामी १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदै छ।