मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Thursday, 26 December, 2024
२o८१ कार्तिक १९ सोमबार १o:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलन : नेपालको सडक सुरक्षाका लागि विश्व समुदायसँग सहयोगको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार १o:४२:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको सडक पूर्वाधार र सडक सुरक्षाका लागि विश्व समुदायसँग सहयोगको आग्रह गरेका छन् । साउदी अरबको राजधानी रियादमा जारी सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको मन्त्रीस्तरीय सत्रमा मन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनका कारणले सडक पूर्वाधारमा व्यापक क्षति पुग्ने गरेकाले प्रविधि र दिगो सडक सुरक्षामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । मन्त्री दाहालले नेपालमा सडक दुर्घटनामा बर्सेनि करिब दुई हजार चार सयजनाको ज्यान गइरहेको जानकारी गराउँदै सडक पूर्वाधारको स्तरोन्नति र सुरक्षामा लगानी भएमा दुघटना न्यूनीकरण हुने उल्लेख गरे। 

सडक दुघटनामा मृत्यु हुनेको संख्या उच्च रहेकाले यसमा सुधार गर्न नेपालमा विभिन्न नीतिगत निर्णय, संस्थागत संरचनामा सुधार निर्माण गरेको भन्दै मन्त्री दाहालले भने, ‘सडक सुरक्षा बहुपक्षीय विषय हो। यसमा सबैको सहकार्य चाहिन्छ।’ ‘सडक पूर्वाधारको अवस्थामा सुधार ल्याउने, भेइकल फिटनेस टेस्ट गर्ने, ड्रिंक र ड्राइभमा रोक लगाउने काम भएको छ,’ सम्मेलनमा उनले भने, ‘नेपालले आफ्नो क्षमताले भ्याएसम्म काम गर्दै छ । सडक पूर्वाधार र सुरक्षामा विश्व समुदायको सहयोगको आवश्यकता छ ।’

जलवायु परिवर्तनको प्रभाव
सम्मेलनमा मन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभाव नेपालमा पर्ने गरेको उल्लेख गरेका छन् । ‘नेपालमा वातावरण परिवर्तनले नकारात्मक असर परेको छ । बाढीपहिरोले धनजनको ठुलो क्षति भइरहेको छ,’ उनले भने, ‘नेपाल एक्लैले क्षति परिपूर्ति गर्न सक्दैन । अन्तर्राष्ट्रिय समुदायले पनि सहकार्य गर्नुपर्छ ।’
नेपालमा जलवायु परिवर्तनको कारणले हिमाल, पहाड, तराई क्षेत्रमा असर पुगेको र वर्षा तथा बाढीका कारण सडक पूर्वाधारमा वढी क्षति पुग्ने गरेकोले यसमा सबैको न्यूनीकरण गर्न सहकार्य आवश्यक भएको उनले बताए ।

दुईपक्षीय भेटवार्ता
मन्त्री दाहालले आफ्ना समकक्षी साउदी अरबका यातायात तथा रसद सेवामन्त्री एवं सडक सामान्य प्राधिकरणका अध्यक्ष सालेह विन नासिर अल–जासेरसँग भेटवार्ता गरेका छन् । मन्त्रीस्तरीय भेटवार्तामा सडक सुरक्षा, विश्व समुदायसँग सहयोग र नेपाल–साउदी अरबबिचको सम्बन्धबारे छलफल भएको नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीले नयाँ पत्रिकालाई बताए ।  

मन्त्री दाहालले साउदी अरबसँग सडक पूर्वाधारलगायतको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको उनले बताए । साउदी अरबका मन्त्री जासेरले साउदी अरबलाई विश्व मञ्चमा नेपालले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । साउदी अरबले सडक पूर्वाधार र पुल निर्माण क्षेत्रमा हासिल गरेको विज्ञतालाई नेपालमा पनि कार्यान्वयनमा ल्याउने गरी सहयोग गर्न मन्त्री दाहालले गरेको आग्रहमा साउदी मन्त्री जासेरले कूटनीतिक रूपमा छलफल गर्ने प्रतिबद्धता जनाए । साउदी अरबसँगको सम्बन्ध  प्रगाढ रहेको भन्दै मन्त्री दाहालले समकक्षी जासेरलाई नेपाल भ्रमणको निम्तो गरेका छन् ।

इन्टरनेसनल रोड फेडेरेसन, आइआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयकाे आयोजनामा सडक सुरक्षा र सिकाइ सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन राजधानी रियादमा जारी रहेको छ । सम्मेलनमा मन्त्रीस्तरीय छलफल, विशेषज्ञ समूहसँग छलफललगायतका कार्यक्रम रहेका छन् ।