मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Monday, 09 December, 2024
२o८१ कार्तिक १९ सोमबार o६:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाँ दाइजोस्वरूप गाउँ नै दिने प्रथा अझै कायम छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार o६:३६:oo

तराई मधेश क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर वेलावेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोवास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी–चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दु नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।

आज हामी तपाईंहरूलाई योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त  छोरी–चेलीको विवाह गर्दा दाइजोमा गाउँ नै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोवास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर– २ का अगुवा भट्टाई मरिकले जानकारी दिए। मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोवासका लागि राजी भएमा एउटा गाउँ नै दाइजोस्वरूप दिने गरेको भट्टाईले सुनाए । 

मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्‍याउने, चाडबाडका वेलामा बाँसका सामग्री बनाएर बिक्री–वितरण गर्नु हो । चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिवार्य भएकाले एकजनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्री–वितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ । विशेष गरेर ग्रामीण भेगमा बसोवास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ। यजमानले लिएको सामग्रीबापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् । 

विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ । आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबारअनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ । 

एक गाउँ बेच्दा  तीन लाखदेखि चार लाख वा सामाजिक मूल्यांकनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजोस्वरूप दिने गरिएको हरिनगर– २ का वीरेन्द्र मरिकले बताए। दाइजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए । रासस