१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o९:५३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसकारण लाग्दै छ रुसी सैन्य सामग्रीको प्रतिष्ठामा धक्का

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o९:५३:oo

युक्रेनी युद्धभूमिमा पटक–पटक रुसी सैन्य उपकरणको कमजोर प्रदर्शन देखिँदै आएको छ

इजरायलले गत अक्टोबर २६ बिहान केही महत्वपूर्ण इरानी सैन्य पूर्वाधारमाथि हवाई आक्रमण गर्‍यो । आक्रमणले ती पूर्वाधारमा मात्र होइन, रुसी सैन्य उपकरणको प्रतिष्ठामा पनि धक्का पुर्‍याएको छ । अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार अक्टोबर २६ मा इजरायलले १०० जेट लडाकुमार्फत प्रहार गरेका क्षेप्यास्त्रमध्ये एकदम थोरै मात्र रुसमा बनेको वायु प्रतिरक्षा उपकरणले रोक्न सक्षम भएको थियो । इजरायलले आक्रमणबाट क्षेप्यास्त्र रोक्न प्रयोग हुने तीनवटा रुसी एस–३०० हवाई प्रतिरक्षा प्रणाली नै नष्ट गरिदियो । यस वर्षको सुरुको आक्रमणमा इजरायलले इरानसँग रहेका चारमध्ये बाँकी एस–३०० पनि नष्ट गरिदिएको थियो । 

युक्रेनी युद्धभूमिमा पटक–पटक रुसी सैन्य उपकरणको कमजोर प्रदर्शन देखिँदै आएको छ । रुसविरुद्ध लडिरहेका युक्रेनी सेनो एस–३०० मात्र होइन थप उन्नत रुसी उपकरणमा उलेख्य क्षति पुर्‍याइरहेका छन् । यस वर्षको मे र अगस्टमा किभको फौज एस–४०० प्रतिरक्षा प्रणालीमा समेत क्षति पुर्‍याउन सक्षम देखियो । युक्रेनी आक्रमणमा त्यसका सम्पूर्ण र अांशिक हिस्सा नष्ट भएका थिए । सन् २००७ मा पहिलोपटक प्रयोगमा ल्याइएको एस–४०० प्रतिरक्षा प्रणाली रुसको सबैभन्दा परिष्कृत वायु प्रतिरक्षा उपकरण हो । यसलाई अमेरिकी शक्तिशाली प्याट्रियोट प्रणालीको जवाफ मानिन्छ । यसको आगमनपछि लामो समयदेखिको नेटोको हवाई श्रेष्ठतामा धक्का लागेको पश्चिमी विश्लेषकले चिन्ता व्यक्त गर्दै आएका छन् । सन् १९७० को दशकको अन्त्यतिर निर्माण गरिएको एस–३०० प्रणाली भने पटक–पटकको परिष्कारपछि हालको अवस्थामा आएको छ । दुवै रुसी हवाई प्रतिरक्षा प्रणालीलाई चीन र बेलारुसजस्ता मस्कोका केही निकटतम सहयोगी र भारत, भियतनाम र अल्जेरियालगायतका उसका सबैभन्दा ठुला हतियार खरिदकर्ताले प्रयोग गर्छन् । 

एस–३०० प्रणाली र तेहरानको मिसाइल–उत्पादन गरिने संयन्त्रमाथि इजरायलको सटिक आक्रमणले इरानमा इजरायलको गहिरो खुफिया प्रवेशलाई पुनः सार्वजनिक गरिदिएको छ । यो गत अगस्टमा तेहरानमा हमासका राजनीतिक प्रमुखको हत्यादेखि त्यसअघि इरानी आणविक कार्यक्रमसँग सम्बन्धि क्षेत्रमाथिको आक्रमणको समय पनि देखिएको थियो । रुसी मात्र होइन, हाल प्रचलनमा रहेका कुनै पनि मिसाइल प्रतिरक्षा प्रणाली पूर्ण रूपमा अभेद्य छैनन् । रुसले युक्रेनमा प्रयोगमा ल्याइएका कम्तीमा एउटा अमेरिकाको उति उन्नत प्याट्रियोट प्रणालीलाई नष्ट गरिदिएको छ । इजरायलसँग विश्वको सबैभन्दा उन्नत क्षेप्यास्त्र रक्षा प्रणाली छ । तर, त्यसले इरान र उसका सहयोगी मिलिसियाले यो वर्ष प्रहार गरेका मिसाइल र ड्रोन इजरायली आकाशमा प्रवेश रोक्न सकेन । 

सैन्य उपरकणको विक्रीमा रुसको घट्दो प्रभाव 
स्टकहोमस्थित इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट(सिप्रि)का अनुसार सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसी हतियार निर्यातमा कमी आउन थालेको छ । सिप्रिका अनुसार गत वर्ष मस्कोले विदेशी मुलुकलाई गर्ने हतियार बिक्री सन् २०२२ को तुलनामा ५२% घट्यो । ‘रुसको युक्रेनमाथि आक्रमणले यसको रक्षा उद्योगको प्रतिष्ठामा ठुलो धक्का लगायो,’ सिंगापुरस्थित थिंक ट्यांक र्आएसइएएस– युसोफ इसाक इन्टिच्युटका वरिष्ठ फेलो इयान स्टोरीले भने, ‘रुसका परम्परागत ग्राहकले देशको रक्षा उद्योगमा विश्वास गुमाइसकेका छन् । तिनले अहिले नयाँ आपूर्तिकर्ता खोजिरहेका छन् ।’

तथापि, अहिले देखिएको रुसी सैन्य उपकरणहरूको खराब प्रदर्शनले मस्कोको सैन्य निर्यातमा उलेख्य प्रभाव पार्ने सम्भावना न्यून छ । रुसका सबैभन्दा ठुला हतियार खरिदकर्ताका सामु निकट अवधिमा धेरै विकल्प नभएकाले तिनले अन्य खरिदकर्ता खोज्नेछैनन् । अहिलेका लागि रुसमाथि नै निर्भर हुनुपर्ने कारणले तिनले पछिल्लो घटनामा देखिएको हतियारको कमजोर प्रदर्शननाई औल्याउदैं मस्कोमाथि दबाब सिर्जना गर्नेछन् । तर मध्यमकाल र दीर्घकालमा रुसबाट हतियार किन्ने देशहरू दक्षिण कोरिया, इजरायल, अमेरिका र चीनतर्फ फर्किन सक्छन् । 

सार्वजनिक तथ्य नै हो कि रुसको सबैभन्दा महत्वपूर्ण ग्राहक भारत रहँदै आएको छ । रुसले सन् २०१९ र सन् २०२३ बिचमा गरेका कुल सैन्य सामग्रीको निर्यातको एकतिहाइभन्दा बढी हिस्सा भारतले ओगटेको सिप्रिले तथ्यांकले देखाउँछ । शीतयुद्धकालमा सोभियत संघसँगको सम्बन्ध घनिष्ठ हुँदादेखि नै भारत मस्कोको शीर्ष हतियार ग्राहक रहँदै आएको छ ।

भारतले रुससँग पाँच एस–४०० प्रणाली माग गरेकोमा तीन वटा पाइसक्यो । भारतीय सुरक्षा अधिकारीका अनुसार रुसबाट आएका उक्त वायु प्रतिरक्षा प्रणालीको एकाइहरू पाकिस्तान र चीनतर्फको सिमानामा राखिएका छन् । भारतीय वायुसेनाले अर्को वर्षको अन्त्यसम्ममा बाँकी दुईवटा एकाइ पनि रुसले दिने अपेक्षा गरेको छ । भारतीय अधिकारीहरूले धेरैपटक मस्कोलाई उक्त प्रणाली छिट्टै उपलब्ध गराउन दबाब दिएका छन् । तर, रुसले ढिलाइका लागि युक्रेन युद्धलाई दोष दिँदै आएको छ । इरानमा इजरायली आक्रमणलाई आफूहरूले चेतावनीको रूपमा नहेरेको भारतीय अधिकारीहरूले प्रतिक्रिया दिएका छन् । 

‘एस–४०० विश्वको कुनै पनि वायु प्रतिरक्षा प्रणालीभन्दा उन्नत छ । इजरायली आक्रमणमा परेको इरानी संस्करण न्यून गुणस्तरको थियो । त्यसैले हामीलाई आफूसँग भएको प्रणालीको प्रविधि र कार्यसम्पादप्रति कुनै चिन्ता छैन,’ एक सेवारत भारतीय सुरक्षा अधिकारीले भने । अधिकारीको यस टिप्पणीको बाबजुद भारतले पछिल्लो वर्षमा रुसी हतियारको खरिद घटाउँदै लगेको छ । ऊ अहिले अन्य देशको सहयोगमा स्वतन्त्र रूपमा आफ्नै सैन्य उपकरण निर्माण उद्योग विकास गर्न केन्द्रित भएको छ । सन् २०१९ देखि २०२३ सम्मको अवधिमा रुसी सैन्य उपकरणको भारतीय आयात अघिल्लो पाँच वर्षको अवधिको तुलनामा ३४ प्रतिशतले घटेको सिप्रिले जनाएको छ । भारत लामो दूरीका हवाई प्रतिरक्षाका लागि एस–४०० माथि निर्भर भए पनि छोटो र मध्यम–दूरीका प्रतिरक्षाका लागि देशभित्रै विकसित उपकरण प्रयोग गर्दछ, जुन उसले इजरायलको सहकार्यमा विकास गरेको हो । सुरक्षा अधिकारीहरूका अनुसार भारतले स्वदेशमै लामो दूरीको सतहबाट हावामा मार हान्न सक्ने मिसाइल प्रणाली विकासमा काम गरिरहेको छ । त्यसको दायरा एस–४०० हाराहारी हुने अपेक्षा गरिएको छ । 

–वाल स्ट्रिट जर्नलबाट