स्याङ्जाको वालिङ नगरपालिकाको फोहोर व्यवस्थापनको अभ्यासको अवलोकन र अध्ययन गर्न गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरू त्यसतर्फ गएका छन्।
वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि सरसफाइ केन्द्र स्थापना गरेर काम गर्दै आइरहेको छ भने त्यसबाट आम्दानी पनि गरिरहेको छ। सो अभ्यासलाई फोहोर व्यवस्थापनको हिसाबले प्रभावकारी मानिएकोले गोदावरी नगरपालिकाको टिम त्यसैको अध्ययनको लागि वालिङ नगरपालिकामा पुगेको हो।
पछिल्लो समय गोदावरी नगरपालिकामा पनि फोहोर व्यवस्थापनको समस्या बढ्न थालेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनबाट कसरी आम्दानी गर्ने र फोहोरमैलाको उचित व्यवस्थापन गर्ने भन्नेबारेमा अध्ययन गर्न त्यहाँ पुगेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए। वालिङ नगरपालिकाको फोहोर व्यवस्थापनको अभ्यास अन्य नगरपालिका, गाउँपालिका र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने संघसंस्थाले अध्ययन अवलोकन गरिसकेका छन्।
वालिङ नगरपालिका अहिले फोहोर व्यवस्थापनको लागि सिकाइ केन्द्रजस्तै बनेकोले पनि त्यहाँ गएको मेयर महर्जनले बताए। उनले गोदावरी नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको र त्यसलाई कसरी कार्यान्वयन गर्न भन्ने अध्ययन गर्न पुगेको उनले बताए।
‘अब हामी यो काम छिट्टै सुरु गर्दै छौँ, त्यसका लागि वालिङको अभ्यास हेर्न आयौँ,’ उनले भने, ‘वालिङले अन्य प्रकृतिका फोहोरको व्यवस्थापन पनि उत्कृष्ट तरिकाले गरेको छ, फोहोर व्यवस्थापनको सिकाइको लागि हाम्रो यो भ्रमण फलदायी र उपलब्धिमूलक हुनेछ।’
वालिङ नगरको वडामा गठन गरिएको उपसमितिले आ-आफ्नो टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरी सरसफाइको काम अघि बढाइएको थियो। नगरपालिका र गैरसरकारी संस्थाबिच फोहोरमैला व्यवस्थापनको चारखम्बे अवधारणाअनुसार सम्झौता भई फोहोर संकलनको काम सुरु भएको थियो। चारवर्षे सम्झौता सकिएपछि अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गरिरहेको छ।