यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ। किसानले धान पाकेर भित्र्याउने वेलामा नै मौसमअनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धानखेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। केही दिनयता धानका लागि मौसमअनुकूल देखिएको छ। मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिए। ‘गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेश प्रदेश तथा बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो,’ उनले भने, ‘मधेश प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ। सिराहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भएको छ, जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ।’
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेश र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताए। ‘मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति वेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ,’ उनले भने।
क्षतिको आकलन गरिँदै
मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आकलन निकाल्न आगामी मंसिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ। मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट संकलित डाटालाई समेटेर क्षतिको यकिन तथ्यांक निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ। गोष्ठीमा सबै प्रदेशका सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उनको भनाइ छ।
रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन
यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो। अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो।
मन्त्रालयको अनुसार ९८.५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४.६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको थियो।
मुलुकभर १३ लाख ९८ हजार ९८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भयो। मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार ३८६ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये दुई लाख ७५ हजार २६७ हेक्टर क्षेत्रफलमा रोपाइँ भयो।
अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७.७ र मधेस प्रदेशमा ९७.३ प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो। बागमती प्रदेशमा यस वर्ष ९९.२, गण्डकी प्रदेशमा ९७.८, लुम्बिनी प्रदेशमा ९८.३, कर्णाली प्रदेशमा ९९.२ र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो।
गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो। यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको थियो। तर, भित्र्याउने वेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ।
कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताए। ‘यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो’, उनले भने, ‘तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने वेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो।’
यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झन्डै चार प्रतिशतले रोपाइँ बढेको थियो। अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिए। ‘अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,’ उनले भने, ‘रोपाइँलाई सहज थियो मौसम, अहिले भएन।’
वर्षाको थप असर
गत असोजको मात्रै होइन केही दिनयता परेको वर्षाको कारण धान खेतलाई असर गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता मुलुकको अधिकांश पहाडि भेगमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। यसले काटेर थुपारिएको धानको पाँजा (निहिन)लाई असर पार्ने देखिएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केही दिनयता मुलुकको विभिन्न पहाडी क्षेत्रमा भइरहेको वर्षा आज रातिसम्म रहनेछ। ‘हामी तीनदिने मौसमी पूर्वानुमान गर्नेछौँ, मंगलबार दिउँसोदेखि मौसम सफा रहनेछ,’ उनले भने, ‘तीन दिनसम्म वर्षा हुने सम्भावना छैन, पछिको अवस्था कस्तो रहन्छ भन्ने अनुमान अहिल्यै गर्न सकिनेछैन।’ उनका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।