नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेन्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ।
यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने कांग्रेसको अपेक्षा छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजंग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुन सक्ने धारणा राखे।
नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धन मात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ। कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकिन्छ।’
यही कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगन्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन हुने बताइएको छ।
अभियानमा खासगरी युवालाई रोजगारीको सुनिश्चितताका लागि पहलका साथै दबाब सिर्जना गर्ने, भ्रष्टाचार उन्मूलन र सुशासन पहल र खबरदारी गर्ने तथा महँगी र मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने र समाधानको उपायसमेत देखाउने नेता शाहीले जानकारी दिए।
सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ।