विज्ञानले प्रकृतिका नियमको खोज गरेर हाम्रो जीवनस्तर उकास्दै जगदम्बाको काख अझै न्यानो र आरामदायी पार्ने हो
दसैँको ‘या देवी सर्वभूतेषु’ अझै कानमा गुञ्जिएकाले जगन्माता प्रकृतिका केही रूपको चर्चा गर्न मन लागेर लेख्दै छु । महाकाल कहलिएका शिवलाई समेत उत्तानो पार्ने यो शक्तिसामु विश्व नै विवश छ । गत वर्षको यसैताका मेक्सिकोका आदिवासी ‘अज्टेक’हरूको धार्मिक विश्वासमा आधारित नाटक हेर्ने अवसर मिल्यो । पहिलो घम्साघम्सीमा सजिलै विजयी भएका देवपक्षलाई परास्त पार्न थप शक्ति बटुलेर दलबलसहित फर्किएको खलनायकले कुटिल चालबाट जितेर आफ्नो अधर्मी अधिनायकत्व कायम गर्छ । मर्माहत नायक अन्धलोकमा भौँतारिँदा भेटेका देवीको सक्रियतामा शक्ति विस्तार गरेर ‘असत’माथि आक्रमण गर्छन् । देव थकित भएर ढल्ने वेलासम्म पनि देवी डटेर असतलाई परास्त पारेपछि युद्धको उन्मादमा नायकमाथि नै जाइ लाग्छिन् । अनुनय विनयबाट देवीलाई शान्त पारेर आफू दुईको कल्याणकारी सत्ता कायम गर्दा अनुयायी र विपक्षी सबै नतमस्तक हुन्छन् । अज्टेक साम्राज्य त हजार वर्षजसो अघि स्थापित भएको हो, तर उनका पुर्खा सुदूर उत्तरपूर्वी एसियाबाट अमेरिका छिर्ने क्रम ४० हजार वर्षअघिदेखि थालेर २० हजार वर्षअघिसम्म कम्तीमा तीनपटक ओहोरोदोहोरो गरेपछि एसियासँग सम्पर्क टुटेको प्रमाण भेटिएका छन् । यसर्थ, मानव उत्पत्तिसँगै ‘मातृका’को यस्तो कथावाचन थालिएको हुनुपर्छ ।
युरोपदेखि साइबेरियाभर भेटिने ४० हजार वर्षसम्म पुराना ‘भिनस फिगुरिन’ भनिएका अजिमा र हारतीमाताका जस्ता साना आकृतिले यस धारणालाई थप बल दिन्छ । बच्चाहरूको हेरचाह गर्ने जिम्मा लिएर मानव समाजको विकासमा ठुलो योगदान गरेकी हजुरआमा पूजित हुनु स्वाभाविक हो । माताबाट मात्र प्रसारित ‘माइटोकन्ड्रियल डिएनए’बाट आदिमाता खोज्ने वैज्ञानिकहरूले अफ्रिकास्थित कालाहारीमा दुई लाख वर्षअघि रहेको एक मरुद्यान (ओएसिस) पहिल्याएका छन् । त्यहाँका केही हजारको समूहबाट मानव विश्वभरि फैलिएको निष्कर्ष निकालिन्छ । नौ लाख वर्षजसो अघि आधुनिक मानवको आगमनभन्दा पहिले अफ्रिकामा बस्ने हाम्रो एक अज्ञात पुर्खा (हुन सक्छ, अग्नि नियन्त्रण र ढुंगाको बन्चरो तिखार्ने प्रविधिको बलमा अफ्रिकादेखि जावाद्वीपसम्म पुगेको, परशुरामको अवतारजस्तो, होमो इरेक्टसको कुनै प्रजाति)को जनसंख्या केही लाखबाट एक हजारमा झरेकाले मानव लोपोन्मुख अवस्थाबाट गुज्रेको थियो । ७० हजार वर्षजसो अघि पनि मानवको संख्या एक हजार जोडी मातापितामा झरेको संकेत छ ।
नवपाषाण युगको सुरुतिर लैंगिक अनुपातमा ह्रास आएर १७ महिलामा एक पुरुष मात्र बाँकी थिए । कृषिक्रान्तिले स्थायी बसोवास गराएर पितृसत्ता निम्ताएका कारण सन्तानोपत्तिका लागि अन्य गाउँबाट महिला ल्याउँदै आफ्ना छोरीलाई पर पठाउँदाको नतिजा भन्छन् । विभिन्न कालका यस्ता प्रलयंकारी घटनाबाट मानवजातिलाई उभारेको श्रेय पनि मातालाई नै दिनुपर्छ । ६० हजार वर्षजसो अघिबाट विभिन्न लहरमा उत्तरी अफ्रिकादेखि युरेसियाभरि आधुनिक मानव (होमो सेपियन्स) फैलियो । त्यहाँ बसोवास गर्ने ‘नियान्डर्थल’ र ‘डेनिसोवन’ भनिएका प्रजाति (मेरो विचारमा दानव र राक्षस) कति मानवमै समाहित भए भने एक्लिएका समूह लोप भए । विशेषमा, दक्षिणी अफ्रिका बाहिरका सारा मानवको अनुवंशमा पाँच–सात प्रतिशत देन यिनै प्रजातिको छ । यसरी जहाँ पुग्यो त्यहाँकासँग मिसिँदै आएका केही हजार मातापिताका हामी सन्तानमध्ये कसैले पनि फलानो जातजातिको शुद्धता दाबी गर्नु हास्यास्पद त छ नै, अमानवीय, अवैज्ञानिक, अविवेकी पाखण्ड हो ।
प्राण, चेतना, ज्ञान, बुद्धि, शक्ति, धनसहितका सारा भौतिकता प्रकृतिकै रूप हो । प्रकृतिबाहेक केही सोच्न पनि सकिन्न, यद्यपि भ्रमित बुद्धि विपरीत हुन सक्छ । वैज्ञानिक विधिद्वारा प्रमाणित ज्ञानको जति उपयोग गर्या, उति नै समृद्ध र शक्तिशाली बनिन्छ । विज्ञान प्रविधिका कुरा निरस लाग्ने भएकाले वेदमा पञ्च महाभूतको प्राविधिक ज्ञानलाई देवासुर संग्रामको चाखलाग्दो कथासँगै बुनिएको हो । चार तत्वको बयान गर्ने पाश्चात्य दर्शनमा आकाश थप्नुपर्ने बोध निकैपछि भयो । भृगुले अथर्ववेदमा मन, प्राण, भूत इत्यादिको स्रष्टा काल भएको बताए । लिपि आविष्कारकका प्रतीक व्यासले वेदलाई लिपिबद्ध गर्नुभन्दा धेरैअघिदेखि मौखिक रूपमा प्रसारित हुँदै आएको थियो । काललाई आकाशकै एक दिशा जनाउने कपिल मुनिले सांख्य सूत्र, ‘दिक्कालावाकाशादिभ्य’ले, सापेक्षताको पूर्वाभास दिन्छ । उनको यो द्वैतवादी दर्शनअनुसार दिक्कालीन पुरुषको मोहले प्रकृतिको त्रिसाम्यता विकृत भएर रजोगुणको वरपर सत्व र तम गुण प्रधान भौतिकता उत्पन्न हुन्छ । आइन्सटाइनले विशेष सापेक्षताद्वारा चार आयामिक दिक्कालीन आकाशको प्रस्तावबाट पृथ्वी, जल, वायुजस्ता सबै पिण्डित पदार्थ त चौथो महाभूत शक्तिकै भिन्न रूप भएको प्रमाणित गरे । उनैको सामान्य सापेक्षताले, दिक्कालको गुरुतात्विक वक्रताबराबर पदार्थको ऊर्जा–पिण्ड हुने स्थापित गरेर सांख्यको द्वैधतालाई पनि एकीकृत गर्छ । सर्वभूति दिक्कालको जालोमा स्वतः उत्पन्न हुने कम्पनरूपी गुरुत्वाणु (ग्राभिटोन)हरूको अन्तरक्रियाबाट निर्माण भएको पदार्थ आफ्नै ऊर्जाबराबरले ‘वकृत दिक्कालको उपत्यका’तिर गुरुत्वाकृष्ट भएर ब्रह्माण्डका विशाल संरचना निर्माण गरे ।
अणुको बाहिरी क्षेत्रमा भेटिने पिण्डित कण ‘विद्युताणु (इलेक्ट्रोन)’, र उसैको सर्वाधिक हलुका युगल ‘न्युट्रिनो’लाई सत्वगुणी जोडीको एक उदाहरण माने, यसका क्रमशः गह्रुँगो संस्करण रजोगुणी ‘मुओन’ र तामसी ‘टाओन’हरूको आआफ्नै जोडी छन् । दुर्बल अन्तरक्रियाद्वारा तुरुन्तै इलेक्ट्रोनमा क्षयित हुने पछिल्ला दुईको के काम, थाहा छैन । इलेक्ट्रोनले गर्ने विद्युत् (चुम्बकीय अन्तरक्रियाको आधारमा हाम्रा बत्ती, टिभी, कम्प्पुटर, मोबाइल इत्यादि चल्छन् । ऋणात्मक र धनात्मक चार्जले सजित यो दुई ध्रुवीय अन्तरक्रियाको मध्यस्त गर्ने प्रकाशाणु (फोटोन) हो । अणुका केन्द्रमा रहने प्रोटोन र न्युट्रोनहरूभित्र अप र डाउन नाम पाएका युगल क्वार्कलाई तीन–तीनको संख्यामा बन्धित राख्ने त्रिध्रुवीय (रातो हरियो र निलो चार्जका) सबल अन्तरक्रियाको मध्यस्त ग्लुओनले गर्छन् । यी सत्वगुणी क्वार्क जोडीका पनि अति ऊर्जित अन्तरक्रियामा मात्र देखा पर्ने रजोगुणी (चार्म र स्ट्रेन्ज) तथा तामसी (टप र बटम) दाजुहरू छन् । सबै कणका प्रतिकण भए पनि बिरलै देखिन्छन् ।
सामान्य सापेक्षतामा पाँचौँ आयाम थप्यौँ भने गुरुत्वसहित विद्युतीय अन्तरक्रिया पनि देखा पर्छ । त्यसैले आदिम सर्वभूत कणिक नभएर दश आयमिक धागोको टुक्राजस्तो सूत्रात्मक भए, सितारको तार हल्लिँदा विभिन्न सुर निस्केजस्तै, त्यो धागोका विभिन्न कम्पनले गुरुत्वाणुसहित सबै जानिएका कण प्रसार गर्छ । ब्रह्माण्डको ‘बिग बांग’ उत्पत्तिकालमा चार आयामिक दिक्काल फैलिँदा अन्य आयाम खुम्चिएर विद्युतीय चार्जजस्ता आन्तरिक भौतिक गुणको रूप लिन्छन् । दश आयामको धागोलाई हाम्रो चार आयामिक अवस्थामा खुम्चाउने व्यक्तिपिच्छेको विधि भए पनि यी सबैले एघार आयामिक साबुनको फोकाजस्तो मेम्ब्रेनको सतहमा पुर्याएबाट ‘एम थियोरी’को प्रादुर्भाव भयो । बहुआयामलाई यसरी खुम्च्याउँदा जस्तो अवस्था पनि निर्माण हुन सक्ने भएकाले हामी समानान्तर ब्रह्माण्डको विष्णुमायामा जेलिएका त छैनौँ भन्ने गम्भीर प्रश्न उठेको छ । अझ, विग्नरले बनाएको एक ‘क्वान्टम द्विविधा (पेराडक्स)’ अनुसार त दुई व्यक्तिले एउटै घटना अवलोकन गरेर भिन्न परिणाम निकाल्न सक्छन् ।
अणुवादी कणादमुनिले दुई हजार वर्षभन्दा पुरानो वैशेषिक दर्शनमा दिक्काल मन र आत्मालाई पञ्चतत्वमा थपेर नवद्रव्य बनाए । दिक्कालीन आदिभूतबाहेक अन्य केही नभएकाले आधुनिक विज्ञानले बयान गर्न नसकेको जीवत्व र चैतन्यलाई पनि मेम्ब्रेनमा केही आयाम थपेर बुझ्न सकिन्छ कि ? जीवत्व प्रादुर्भाव गर्न आवश्यक रसायन र विशेषमा डिएनए र आरएनएले विभिन्न प्रोटिन उत्पादन गर्ने निर्देशन बनाउन प्रयोग गर्ने पाँच अक्षर (न्युक्लियोबेसेस), सबै अन्तरिक्षभरि भेटिएका छन् । ब्रह्माण्डको विशाल संरचनाका प्रत्येक खगोलीय पिण्डलाई अर्काेसँग जोड्ने ‘कस्मिक वेब’को जालो, हाम्रो शरीरका प्रत्येक न्युरोनलाई जोड्ने स्नायु प्रणालीको जालोजस्तै स्वचिन्तन गर्न सक्नेबारे गहन अध्ययन आवश्यक छ । यसर्थ, चेतना र जीवत्वलाई प्रश्रय दिने क्षमता ब्रह्माण्डको कुनै पनि अनुकूल क्षेत्रमा निहित हुनुपर्छ । ऋग्वैदिक नासदीय सूक्तको व्यापक परिमार्जित अर्थ लगाउँदा शून्य दिक्कालीन गहिराइमा स्वकम्पनको प्रश्वासले तपित एकबाट गुरुत्वाकर्षक रश्मिन जालो स्वतः फैलिएकोबारे जान्ने, त्यही एक हो कि, उसलाई पनि थाहा छैन ।
जति ‘थियोरी अफ एवरिथिङ’को कुरा गरे पनि सारा चराचरकी सर्वादि जननी, सर्वआयामिक प्रकृतिमाताको सर्वभूति सर्वशक्ति सर्वव्यापी सर्वज्ञानी सर्वात्मिक स्वरूपको सर्वचित्तका सबै भेद खोल्न निकै कठिन छ । विज्ञानले प्रकृतिका नियमको खोज गरेर हाम्रो जीवनस्तर उकास्दै जगदम्बाको काख अझै न्यानो र आरामदायी पार्ने हो । औद्योगिक क्रान्तिले प्रकृतिमाथि विजय गर्ने भ्रान्ति पैदा गरेको थियो । सारा प्राकृतिक अवस्थालाई ध्वस्त पारेर धर्तीमाताको छातीमा चिर्दै खनिज निकाल्ने, नदीनाला सुकाउने र दुर्गन्धित पार्ने, वन फँडानी गर्ने, वायुमण्डलमा धुवाँको मुस्लो हाल्नेजस्ता दुष्कार्य गरेर जलवायु परिवर्तनको सँघारमा आयौँ । युरोपका सम्पन्न राष्ट्रहरूले त प्रकृतिसँगै गतिशील भएर अनुकूलता प्राप्त गर्न मात्र सम्भव भएको कुरा बुझ्न थाले । विशाल सहरमा वृक्षरोपण गरेर हरित पार्ने, चौँडा सडकलाई सानो पारेर जलाशय र कुलो बनाउने, प्राकृतिक पार्कमा यताको ढुंगा–बालुवा उता सार्न पनि नपाउने गरे । हामी भने पुर्खाले बनाएका सुन्दर सहरका पोखरी पुर्दै, हजारौँ वर्ष पुराना भूक्षय निरोधक खेतका गह्रा भत्काउँदै, सके खोलानाला सुकाउँदै, अन्यथा सानो ढलको धरोमा परिणत गर्दै, बाटो र बस्ती बनाउँछौँ । कुनै योजना र गहन अध्ययनविना जसले चाह्यो उसले एक्स्काभेटर लग्दै संवेदनशील पहाड खोस्रेर आफ्नो बाटो आफैँ बनाएर विनाशिलो पहिरो निम्ताउँछौँ । अनि, कमिसनको लोभमा झनै तीव्र चुरे दोहन गर्नेले अन्तर्राष्ट्रिय मञ्चमा गोहीको आँसु बगाउँदै भन्छन्, ‘हामीले नखाएको विष लाग्यो, पैसा लेऊ ।’