‘बँटेंगे तो कटेंगे’जस्ता साम्प्रदायिक नारा सामान्य हुनुले भारत गान्धीवादी सहिष्णुताका आदर्शबाट च्युत भएको देखाउँछ
राष्ट्रिय स्वयंसेवक संघ (संघ परिवार) को पछिल्लो नारा ‘बँटेंगे तो कटेंगे’ (विभाजित भए नासिन्छौँ) हिन्दुमाझ डर र उत्तेजना जगाउन प्रयोग गरिँदै छ । यो नाराले हिन्दु समुदायमा हुने विभाजनले हिंसा निम्त्याउँछ भन्ने सुझाव दिन्छ । हिन्दुत्व राजनीतिले लगातार तेस्रो कार्यकालमा सत्तामा पकड जमाउँदा अल्पसंख्यक विशेषतः मुसलमानले गम्भीर सीमान्तीकरणको सामना गर्नुपरिरहेका वेला बहुसंख्यक हिन्दु समुदायबिच भय उत्पन्न गराउन यो रणनीति आएको छ । विडम्बना के छ भने बहुसंख्यकको आत्मविश्वास र सुरक्षालाई प्रोत्साहन गर्नुको सट्टा यो नाराले हिन्दुमाझ कथित पीडित हुनुको भावनालाई बढाइरहेको छ । वास्तवमा सत्तामा पूर्ण नियन्त्रण हुँदा शासक शक्तिले बरु अधिक सहिष्णुता र करुणालाई प्रोत्साहित गर्न सक्छन्, जुन स्वस्थ समाजका लागि आवश्यक छ ।
भारतीय जनता पार्टी (भाजपा) ले काल्पनिक अल्पसंख्यकको खतरा देखाएर भयग्रस्त हिन्दु बनाउँदै छ, जहाँ मुख्य तारो मुसलमान छन् । यो ‘खतरा’ले आफूइतर समुदायमाथि घृणा बढाउँछ र गान्धीको सहिष्णुता एवं शान्तिपूर्ण सहअस्तित्वको दृष्टिकोणलाई कमजोर बनाउँछ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रचलनमा ल्याएको ‘बटेंगे तो कटेंगे’जस्ता नाराले भाजपा नेताको विभाजनकारी भाष्यलाई बलियो बनाउँछ र राजनीतिक प्रतिद्वन्द्वीलाई हिन्दु एकताका लागि आह्वान गरिएको दबाबलाई चुनौती दिन असहज बनाइदिन्छ । तर, वास्तविक प्रश्न संघ परिवार कस्तो प्रकारको एकता खोजिरहेको छ भन्ने हो ?
भारतीय एकताको सबैभन्दा ठुलो उदाहरण महात्मा गान्धीको नेतृत्वमा भएको स्वतन्त्रता आन्दोलन थियो । यसमा भाजपाको वैचारिक आधार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) टाढा रह्यो र पछि गान्धीको हत्या निम्त्याउने वातावरणलाई प्रोत्साहन गरेको भन्दै प्रतिबन्ध लगाइयो । के आरएसएस–भाजपाले सर्वोच्च अदालतले अपराध मानेको बाबरी मस्जिद भत्काउँदाको जस्तो एकता खोज्छ ? आरएसएस स्थापनाको सय वर्ष पूरा हुँदै गर्दा यसको एकताको अवधारणामा प्रश्न उठ्छ । के यो नाजी जर्मनीमा एडोल्फ हिटलरले भन्ने गरेको एकताबाट प्रेरित हो ? आरएसएस नेता एमएस गोलवालकरले एकपटक जर्मनीको ‘नश्ल गौरव’को प्रशंसा गरेका थिए । र, यसलाई भारतका लागि प्रेरणाका रूपमा हेरेका थिए । यो ‘नश्ल गौरव’ले अन्ततः विश्वव्यापी प्रकोप निम्त्यायो र सामूहिक त्रासदीको नेतृत्व गर्यो ।
योगी आदित्यनाथको बटेंगे तो कटेंगे भन्ने नाराको अर्थ हिन्दुलाई परिचालित गराउनु हो भन्नेमा दुई मत छैन । किनभने महाराष्ट्रको भाषणमा उनले सडकमा नमाज रोकेको र मस्जिदका लाउडस्पिकर हटाएका जस्ता मुसलमानविरुद्ध कामको डिङ हाँकेका थिए । उनको शासन मोडेल मुठभेड, बुलडोजर र अल्पसंख्यकमाझ भय पैदा गर्नमा निर्भर छ । केन्द्रीय मन्त्री गिरिराज सिंहले यही नारा दोहोर्याएका थिए । उनले हिन्दुलाई मुसलमानलगायत ‘घुसपैठिया’बाट हुने आक्रमणविरुद्ध ‘आत्मरक्षा’का लागि घरमा हतियार राख्न आग्रह गरेका थिए । र, उनले मुसलमान ‘शत्रु’विरुद्ध हिन्दु एकता आवश्यक रहेको नभए ‘बटोगे तो कटोगे’ भनेका थिए । भारत गान्धीवादी सहिष्णुताका आदर्शबाट च्युत भएको छ वा छैन भन्ने प्रश्नको उत्तरका लागि यी उदाहरण पर्याप्त छैनन् र ?
प्रधानमन्त्री मोदी र आरएसएससहित भाजपा नेताले यस नारालाई समर्थन गरेका छन् । आमहिन्दुले यसलाई वैचारिक आधार दिने संघ परिवारले प्रचार गर्ने गरेको एकतामा निहित विचारधारा र राजनीतिक उद्देश्यलाई आलोचनात्मक ढंगले गर्नुपर्छ । के यो एकताले समानता, न्याय र भ्रातृत्वका संवैधानिक मूल्यलाई चुनौती दिन्छ ? के संविधान र न्यायपालिका सत्ताको अधीनमा रहने अधिनायकवादी बहुसंख्यकवाद सिर्जना गर्नु एकता हो ? के आफूइतर धर्मका व्यक्तिलाई ‘शत्रु’ करार गर्नु एकता हो ? जब नेता कटेंगे भन्छन्, तब ‘काट्ने’ आक्रमणकारी कसलाई भनिएको हो ? पाकिस्तान, चीन वा अन्य कुनै मुलुक ? यदि बाह्य आक्रमणकारीको खतरा हो भने त्यो एकताको छातामुनि भारतका सबै नागरिक अटाउनुपर्छ । यदि खतरा घरभित्रकै हो भने के यी नारा लगाउनेले अल्पसंख्यकलाई ‘आक्रमणकारी’ भनिरहेका हुन् ? के शिख वा मुसलमान वा जैन वा बौद्ध वा इसाई वा पारसी हिन्दुलाई सिध्याउन लागिपरेका छन् ? के आरएसएस–भाजपाले यो योजनाबारे कुनै प्रमाण भेटेको छ ? छैन, बिल्कुल छैन । आरएसएस–भाजपाले राजनीतिक शक्ति आर्जन गर्न काल्पनिक एजेन्डा निर्माण गरेर अल्पसंख्यकलाई बदनाम गरिरहेको छ । के गैरहिन्दू बहुसंख्यक वा अल्पसंख्यकको हित राष्ट्रिय हितसँग बाझिन्छ ? हो भने संविधानको रक्षा गर्ने शपथ लिएको सत्तारुढ दलले यो दाबी नै कसरी गर्न सक्छ ?
सूक्ष्म रूपमा हेर्दा राष्ट्रवादी एजेन्डा नभई पार्टीगत एजेन्डा हो । यी नेताले भारतीयको सांस्कृतिक र सामाजिक सुरक्षा राजनीतिक विचारको स्वतन्त्रता प्रोत्साहनमा नभई भाजपाप्रतिको बफादारीमा निर्भर रहेको संकेत गर्छन् । यिनले नागरिकको धार्मिक अभ्यासको विविधतामा उपेक्षा गर्दै राजनीतिक अनुरूपता खोज्छन् । यिनले जनतालाई राजनीतिक प्रयोजनका काम लाग्ने विचारविहीन रोबोटका रूपमा हेर्न चाहन्छन् । मोदी सरकारका पूर्वकेन्द्रीय अल्पसंख्यक मन्त्री मुख्तार अब्बास नक्वीजस्ता मुसलमान भाजपासँग रहँदा ‘सुरक्षित’ हुन्छन्, जबकि गिरिराज सिंहजस्ता भाजपा नेताको आक्रामकतालाई अस्वीकार गर्नेमा हिन्दु हुने ल्याकत हुँदैन ।
आरएसएस–भाजपाका लागि राजनीति र विचारधारा इच्छाअनुसार बदलिने औजार मात्र हुन् । यो कहिले ‘सबका साथ, सबका विकास’जस्ता समावेशी नारादेखि ‘बटेंगे तो कटेंगे’ जस्ता विभाजनकारी बयानबाजीका रूपमा प्रकट हुन्छन्, अर्थात् एक दिन सहअस्तित्व र अर्को चरम ध्रुवीकरण । एकताले विभाजनलाई कम गर्नुपर्छ । ‘बटेंगे तो कटेंगे’ भारतीयको नभई भाजपाको नारा हो ।
(झा राजनीतिक टिप्पणीकार हुन्) द वायरबाट