तीनवटै फर्म्याटमा २३ अन्तर्राष्ट्रिय शतक बनाएका न्युजिल्यान्डका सर्वाधिक अनुभवी मार्टिन गुप्तिल एनपिएल खेल्ने अहिलेसम्मकै ठुला नाम गरेका विदेशी खेलाडी
न्युजिल्यान्डका भेट्रान खेलाडी मार्टिन गुप्तिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने एनपिएलका लागि विराटनगरले न्युजिल्यान्डका अनुभवी खेलाडी गुप्तिललाई अनुबन्ध गरेको मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । ३८ वर्षीय गुप्तिलले एकदिवसीय विश्वकपमा दोहोरो शतकीय इनिङ्स खेलेका छन् । एनपिएलमा अनुबन्ध भएका विदेशी खेलाडीमध्ये गुप्तिल अहिलेसम्मकै ठुला नाम गरेका हुन् ।
गुप्तिल विराटनगरले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ । गुप्तिलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पन्जाब किंग्सबाट प्रतिस्पर्धा गरिसकेका छन् । उनले करिअरमा समग्रमा २३ अन्तर्राष्ट्रिय शतकीय इनिङ्स खेलेका छन् । उनले टेस्टमा तीन, एकदिवसीयमा १८ र टी–२० आईमा दुई शतक प्रहार गरेका छन् ।
कर्णालीमा बाबर
कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीका रूपमा हङकङका अनुभवी बाबर हायातलाई अनुबन्ध गरेको छ । कर्णालीले ३२ वर्षीय खेलाडी हायातलाई भिœयाएको सामाजिक सञ्जालबाट जानकारी दिएको हो । बाबरले हङकङका लागि ७९ टी–२० आईमा एक हजार ९१० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ रहेको छ । हङकङका लागि उनले दुई शतक र १० अर्धशतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै ११० रन बनाएका थिए । हायातको आगमनले टोली बलियो भएको कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताएका छन् । ‘बाबर हायात निकै अनुभवी खेलाडी हुन् ।
न्युजिल्यान्डका स्कट सुदूरपश्चिममा
एनपिएलमा सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ । न्युजिल्यान्डका लागि टेस्ट, एकदिवसीय र टी–२० आईमा प्रतिस्पर्धा गरेका स्कटले यसै वर्ष मात्र अस्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । तीव्र गतिको बलिङ गर्ने क्षमता भएका स्कट ठूला सट खेल्न सक्छन् । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् । टी–२० क्रिकेटमा १६८ विकेट लिएका स्कटले ब्याटिङमा एक हजार २२ रन बटुलेका छन् ।