१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
रासस नवलपुर
२o८१ कार्तिक १४ बुधबार १४:oo:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सयपत्री फूल जिल्लाबाहिर पठाउँदै गैँडाकोट नगरपालिका

Read Time : > 1 मिनेट
रासस, नवलपुर
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १४:oo:oo

नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यस वर्ष सयपत्री फूलखेती फस्टाएको छ। यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै छिमेकी जिल्लामा समेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ।

नगरपालिकाले फूलको बिउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो। यस वर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट– १ की पुष्प व्यवसायी मीना केसीले बताइन्। विगतको वर्षको तुलनामा यस वर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्लाबाहिरबाट समेत माग आएको उनले उल्लेख गरे।

‘बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ,’ उनले भनिन्, ‘तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ।’ एक्लो प्रयासमा तीन कट्ठा क्षेत्रफलमा फूलखेती गरेको भन्दै केसीले बिउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताइन्।

फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने केसीले बताइन्। गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा रु. ६० देखि रु. एक सयसम्म तथा फूल प्रतिकिलो रु. तीन सय ५० देखि रु. पाँच सयसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिइन्।

फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरूलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आजदेखि भने आमउपभोक्तालाई लक्षित गरी फूल टिप्न सुरु गरिएको केसीले बताइन्। ‘तिहारका लागि फूलको माग आइरहेको छ,’ उनले भनिन्, ‘आजदेखि फूल टिपेर सर्वसाधारणका लागि पनि बिक्री–वितरण गर्ने गरी तयारी गरेका छौँ।’

गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बिउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताए। 

‘हामीले सयपत्री फूलको बिउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ,’ उनले भने, ‘फूलखेतीको नियमित हेरचाह र रोगकीराको संक्रमण देखिँदा किसानलाई प्राविधिक सहयोगसमेत गर्दै आएका छौँ।’

कृषि विकास शाखा प्रमुख शर्माका अनुसार यस वर्ष गैँडाकोट नगरपालिकाभित्र मात्रै ४१ जना किसानले एक कट्ठादेखि एक बिघा जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। ‘व्यावसायिक रूपमा खेती गरेका किसानले पाँच बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन्,’ उनले भने, ‘व्यक्तिगत प्रयोजनका लागि समेत यहाँ फूलखेती गरिने हुँदा नगरपालिकाभित्र करिब आठ बिघा क्षेत्रफलमा फूलखेती भएको छ।’

यहाँ उत्पादन भएको फूल स्थानीय बजारमा पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौं, पोखरा, बुटवललगायत सहरमा पठाउन पालिकाले समन्वय गरिरहेको शर्माले जानकारी दिए। नगरपालिकाले तीन वर्षअघि व्यावसायिक रूपमा फूलखेती गर्न किसानलाई आकर्षित गरेको उल्लेख गर्दै उनले त्यसपछिका वर्षमा किसानलाई तालिम, बिउ र बिरुवामा अनुदान, प्राविधिक सहयोग नियमित गर्दै आएको बताए।

गैँडाकोटमा फूलखेतीका लागि उपयुक्त माटो र हावापानी भएकाले आगामी वर्षमा उत्पादनसँगै क्षेत्रफल बढाउन किसान लक्षित विभिन्न कार्यक्रम ल्याउने योजना रहेको कृषि विकास शाखा प्रमुख शर्माले जानकारी दिए। यहाँ व्यक्ति तथा समूहले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन्।