१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १४ बुधबार १५:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डढेलो र वायुप्रदूषणको जोखिम घटाउन नेफेजद्वारा सरकारको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १५:२३:oo

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले डढेलो, आगलागी र वायुप्रदूषणको जोखिम घटाउने गरी प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढ्नुका साथै वायुप्रदूषणको ग्राफ पनि उकालो लाग्न थालेपछि नेफेजले विज्ञप्ति जारी गरी संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो।

‘वर्षभर नै कुनै न कुनै विपतकाे सामना गरिरहेको नेपाल बाढीपहिरोको संकटपछि डढेलो र वायुप्रदूषणको जोखिममा छ। मनसुन सकिएसँगै काठमाडौं उत्यकासहित मुलुकका अन्य सहरमा वायुप्रदूषणको ग्राफ उकालो लागेको र आगलागी–डढेलोका घटनामा वृद्धि भइरहेकोप्रति नेफेज संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँछ,’ महासचिव कमलदेव भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रले डढेलोको जोखिम घटाउन र वायुप्रदूषण रोकथामका लागि समयमा नै कदम चाल्न नेफेज सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’ 

वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सरोकारवाला निकायले ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ कार्यान्वयनमा चासो नदिएको उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘सवारीसाधनको प्रदूषण जाँच पनि मौसमी हुने गरेको छ।’

आगामी मनसुन अघिसम्म वायुप्रदूषण र आगलागी, डढेलोले विपतको रूप लिने गरेको विगतका दृष्टान्त रहेकाले जोखिम घटाउने गरी प्रभावकारी कदम चाल्न सरकारलाई अपिल गरेको नेफेजले संविधानको धारा ३० मा ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने’ मौलिक हकका रूपमा समावेश रहेको र सोही धाराको २ मा’ वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकसमेत उल्लेख रहेको स्मरण गराएको छ। ‘तसर्थ, रोकथाम र क्षति न्यूनीकरणका लागि अहिले नै तयारी थाल्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

काठमाडौंको वायुप्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा १० गुणा बढी (पिएम–२.५ को मात्रा वार्षिक ५०.९ माइक्रोग्राम प्रतिघनमिटर) पुग्ने गरेको छ। अझ सुक्खायाममा डढेलो र प्रदूषणका कारण शैक्षिक संस्थाको पठनपाठन स्थगित गर्नुपरेको विगत छ। वनजंगलमा डढेलो लाग्न सुरु भइसकेको छ भने एक सातामा मात्र ३२ ठाउँमा आगलागी भएको गृह मन्त्रालय, आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकले देखाउँछ।